अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 16:14

सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षामा बस्न मिल्दैनः रक्षामन्त्री उप्रेती

बिआरटीनेपाल २०८१ असार १० गते ६:०३ मा प्रकाशित

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षाको लागि बस्न नमिल्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री उप्रेतीले अन्तर्राष्ट्रिय प्रचलनअनुसार सामान्य अवस्थामा सीमा सुरक्षाको लागि नेपाली सेना सीमामा बस्न नमिल्ने बताउनुभएको हो। उहाँले नेपाली सेनाले दूरीमा बसेर सीमा सुरक्षाको निगरानी गरिरहेको बताउनुभयो।

मन्त्री उप्रेतीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृङ्खलताको कारणले गम्भीर संकट उत्पन्न भएमा मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपतिले सेना परिचालनको घोषणा गर्न सक्ने भन्दै त्यस्तो परिस्थिति आएमा सेना तयार रहेको बताउनुभयो। उहाँले राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक तर्जुमा भई प्रक्रियामा अगाडि बढाइएको पनि जानकारी दिनुभयो।

उप्रेतीले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय प्रचलनअनुसार सामान्य अवस्थामा भौतिक रुपमा हतियार लिएर सीमानामा नेपाली सेना उपस्थित हुने कुरालाई अन्तर्राष्ट्रिय मान्यताअनुसार ठीक मानिँदैन र त्यसलाई अर्धसैनिकलाई सीमानामा राख्दै केही दूरीमा नेपाली सेना बसी त्यसको अनुगमन, निरीक्षण गर्दै शान्तिसेनाको र सीमा सुरक्षाको निगरानी गरिरहेको हुन्छ। असमान्य अवस्थामा राष्ट्रिय सुरक्षा परिषद्को निर्णय, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयमार्फत राष्ट्रपतिज्यूबाट घोषणा भएपछि सेना परिचालन हुने हाम्रो संविधानले व्यवस्था गरेको छ। सीमानामै सेना हतियार लिएर बस्नुपर्छ भन्ने कुरा अन्तर्राष्ट्रिय मान्यताअनुसार नमिल्ने हो।’

उहाँले नयाँ पिढीमा राष्ट्रभाव कमजोर भइरहेको भन्दै राष्ट्रभाव जागृत गराउन राष्ट्रिय सेवा दललाई प्राथमिकतामा राखेको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय