इजरायल सरकारले ९२ हजार जना विदेशी श्रमिक भित्र्याउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका महानिर्देशक योसी शेलीको अध्यक्षतामा बसेको विदेशी श्रमिकसम्बन्धी उच्चस्तरीय समितिको बैठकले ९२ हजार श्रमिक भित्र्याउने निर्णय गरेको समाचार संस्था फिलिपिनले जनाएको छ ।
इजरायलमा विदेशी श्रमिक अभाव भएपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विदेशी श्रमिकको कोटा तोक्नको लागि गएको मे १५ तारिखमा उच्चस्तरीय समिति बनाउनुभएको थियो । इजरायलले सबैभन्दा धेरै कृषि क्षेत्रमा ६५ हजार जना भित्राउने निर्णय गरेको छ । अक्टोबर ७ मा हमासको आक्रमण हुनु अघि इजरायलको कृषि क्षेत्रमा २९ हजार नौ सय जना विदेशी कामदार थिए ।
उद्योगमा १३ हजार दुई सय, होटलमा ६ हजार ८ सय र रेस्टुरेन्ट क्षेत्रमा दुई हजार जना भित्राउने जनाएको छ । इजरायलले रेष्टुरेन्टमा पहिलोपटक विदेशी कामदार भित्राउन लागेको हो ।अहिले ४५ हजार विदेशी कामदार रहेको केयर गिभर क्षेत्रमा भने यस पटक कामदार भित्राउने निर्णय भएको छैन । यस्तै कुन–कुन देशबाट कामदार ल्याउने भन्ने निर्णय पनि नभएको इजरायली अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था फिलिपिनले जनाएको छ ।