उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गनैपर्ने बेला भएको बताउनुभएको छ । बिहीबार काठमडौंमा डिआर पौडेलेको पाँचौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाको दुई महत्वपूर्ण कार्यभार पूरा गरिसकेको भन्दै संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी रहेको बताउनुभयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामहरु पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्ने काम गर्नुपर्ने आजको आवश्यकता रहेको पनि बताउनुभयो । उहाँले राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर आर्थिक र सामाजिक क्षेत्रमा यसलाई बिस्तारित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले विकास र समृद्धिको प्रक्रियालाई तिब्र बनाउनुपर्ने बेला भएको बताउनुभयो ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले आज एशिया केन्द्रित भएर बदलिएको विश्व परिस्थिति र नेपालको भूराजनीतिक अवस्थितिको कारणले देखापरेको भूराजनीतिक संवेदनशीलताका चुनौतिहरुको बीचमा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमानताको रक्षा गर्नु सहज नरहेको बताउनुभयो । चुनौति र अवसरलाई सम्हालेर अघि बढ्नु नै अहिलेको राष्ट्रिय कार्यभार रहेको बताउनुभयो । उहाँले नेपालमा अहिले सांस्कृतिक र वैचारिक भ्रष्टीकरण व्याप्त रहेको बताउनुभयो ।