अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४० | Colorodo: 09:55

अस्पतालमा अनियमितता गर्नेहरु केही दिनभित्रै कारबाहीमा पर्दछन् : मन्त्री यादव

बिआरटीनेपाल २०८१ जेठ २८ गते ७:२६ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालभित्र अनियमितता गर्नेहरुलाई केही दिनभित्रै निलम्वन गरिने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री यादवले अस्पतालहरुमा अनियमितता हुने गरेको भन्दै केही दिन भित्र अनियमितता गर्नेहरुलाई निलम्वन तथा कारबाही गरिने बताउनुभएको हो ।

मन्त्री यादवले अनियमितता गर्नेहरुलाई रंगेहात पक्रेर आफैँले अख्तियारमा पठाउने बताउनुभयो । उहाँले अस्पतालहरुमा भएको बेथिति रोक्न र दोषिलाई समात्न मन्त्रालयले चाँडै नै अस्पतालहरुमा टिम परिचालन गर्ने बताउनुभयो । उहाँले राज्यले आमा सुरक्षा कार्यक्रममार्फत अपरेशन गरेर बच्चा जन्माउने आमामा लागि १० हजार रुपैयाँ दिएको भएपनि सम्बन्धितले सो रकम नपाएका बताउनुभयो । उल्टै आमालाई नै रकम तिराएर अनियमितता भइरहेको भन्दै त्यहाँ पनि आफ्नो ध्यान पुगेको बताउनुभयो ।

मन्त्री यादवले राज्यले दिएको सेवा, सुविधा नागरिकलाई नदिएर अस्पताल व्यवस्थापनले नागरिकलाई सास्ती दिइरहेको भन्दै दोष चाहीँ मन्त्री र उच्चपदस्थ व्यक्तिहरुमा जाने गरेको बताउनुभयो । उहाँले दोषिउपर सबैलाई कारबाही गरिने चेतावनी दिनुभयो ।

मन्त्री यादवले चिकित्सकहरुलाई सुगमस्थानबाट अन्य स्थानमा सरुवा नगर्न ठूलो स्तरबाट दबाब आउने गरेको बताउनुभयो । उहाँले मन्त्रीको कुर्सि नै हल्लिने गरी चिकित्सक सरुवा नगर्न दबाब आउने गरेको बताउनुभयो । उहाँले सरुवा भएको ठाउँमा चिकित्सक जानैपर्ने अडानमा मन्त्रालय रहेको भन्दै निर्णयबाट पछाडि नफर्किने स्पष्ट पार्नुभयो । मन्त्री यादवले संघीय अस्पतालहरुमा धेरै कमजोरीहरु रहेको र व्यापक सुधारको आवश्यकता रहेको भन्दै आफू सुधारको काममा लागेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय