नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटना भएको अवस्थामा उद्धारका काम कसरी प्रभावकारी बनाउने ? भन्ने विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभ्यास कार्यक्रम आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को मापदण्ड अनुसार विमानस्थल आधा घण्टा बन्द गरी आकस्मिक अभ्यास तालिम आयोजना गरिएको हो । सम्भावित विमान दूर्घटनापछिको उद्धारमा जुट्ने निकायहरुले गरेको अभ्यास हो यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना र आपतकालिन अवस्थाको प्रतिकार्यका लागि जतिसक्दो छिटो उद्धारका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नमूना अभ्यास गरेका हुन् ।
कु्नै काल्पनिक जिल्लाबाट २ सय ५० यात्रुसहित उडेको खप्तड एअरलाइन्सको केएचटी ३०१ बिमानमा काठमाडौं बिमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेपछि हुने उद्धार कार्यको अभ्यास गरिएको हो । जसमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, चिकित्सकलगायत सहभागी थिए । अभ्यास टोलीले विमान दुर्घटनाको घटनास्थल पहिचान गरी उद्धार टोली खटाई उद्धार गरेका थिए । त्यस क्रममा अन्तराष्ट्रिय विमानस्थलको रेस्क्यु कोर्डिनेशन सेन्टरले बिमानमा आगलागी भएपछि जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सम्बन्धित निकायलाई सूचना प्रवाह गरेको थियो । विमान दुर्घटनास्थल पहिचान गरी उद्धार टोली परिचालन गरिएको थियो ।
अभ्यासकै क्रममा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव संकलन गर्ने र घाइतेहरुको उद्धारको अभ्यास गरिएको थियो । घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गरेको दृश्य पनि प्रदर्शन गरिउको थियो ।अन्तर्राष्ट्रिय अभ्यास अन्तर्गत नेपालले हरेक दुई वर्षमा यस प्रकारको नमुना अभ्यास गर्ने गरेको छ । यसले उद्धार टोलीलाई कुनै दुर्घटना हुने बितिकै उद्धारमा सहज हुने र क्षती कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । दुर्घटना बाजा बजाएर आउँदैन । त्यसैले संभावित दूर्घटनापछि तत्काल उद्धारका लागि चुस्त बल तयार पार्नु आफैंमा स्वागत योग्य कदम हो ।