अर्जेन्टिनाले ५० हजार जना सरकारी कर्मचारी कटौती गर्ने भएको छ । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले गएको डिसेम्बरमा सरकारको खर्च घटाउने योजना सार्वजनिक गर्नुभएको थियो । त्यही योजनाअनुसार अब छिटै ५० हजार जना सरकारी कर्मचारीलाई बिदाइ गर्ने कुरा दोहोर्याउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।१० औँ ल्याटिन अमेरिकी बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्जेन्टिनी राष्ट्रपति माइलेले सार्वजनिक खर्च कटौती गर्ने आफ्नो अभियानको प्रशंसा गर्दै विरोधीहरूको कुरा नसुन्ने बताउनुभएको छ ।
पेन्सन सुधारलाई बढावा दिनका लागि सबै सार्वजनिक खर्चमा लगाम लगाउने नीतिगत प्रस्ताव चाँडै संसद्बाट पारित हुने पनि उहाँले बताउनुभएको छ । आफूले भिटो प्रयोग गरेर भए पनि सार्वजनिक खर्च घटाउने कानुनहरू पारित गर्ने राष्ट्रपति माइलेले बताउनुभएको छ । गएको डिसेम्बर यतामात्रै सरकारी तलब भत्ता खाने २५ हजार जनालाई सेवाबाट हटाएको पनि अर्जेन्टिना सरकारले जनाएको छ ।