अर्थमन्त्री वर्षमान पुनले गणतन्त्र ल्याएको डेढ दशकमा विकासले फड्को मारेको बताउनुभएको छ । शनिबार माओवादी निकट वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको भेलालाई सम्बोधन गर्दै मन्त्री पुनले गणतन्त्र स्थापना गरेको बेला देशमा ५ हजार किलोमिटर बाटो कालोपत्रे भएकोमा अहिले १८ हजार किलोमिटर बाटो कालोपत्रे भएको बताउनुभयो ।
गणतन्त्र अघि देशमा २० हजार किलोमिटर सडक रहेकोमा अहिले १ लाख ५ हजार किलोमिटर सडक पुगेको उहाँले बताउनुभयो । पुनले यो वर्ष हुम्ला सडक सञ्जालले जोडिएकोले अब कुनै पनि जिल्ला सडक सञ्जालबाट बाहिर नरहेको उल्लेख गर्नुभयो । गणतन्त्रको १६ वर्षमा धेरै भौतिक प्रगति भए पनि अब त्यसलाई गुणस्तरमा बदल्नेगरी बजेट आएको उहाँले उल्लेख गर्नुभयो। अन्य जागरणका कुरामा पनि परिवर्तन भए पनि जुन रूपमा जनताको जीवनस्तर फेर्नुपर्ने थियो त्यो रूपमा फेर्न नसकेको पुनले बताएउनुभयो
विश्व भूमण्डलीकरण भएकोले अहिले युवाहरू संसारभर पुगेको र त्यहाँको विकासलाई नेपालसँग तुलना गरेर असन्तुष्टि बढेको प्नले बताउनुभयो । उहाँले ३ सय वर्षअघि पृथ्वीनारायण शाहले आधुनिक नेपाल बनाउँदै गर्दा बेलायत र अमेरिकामा औद्योगीकरणको विकास सुरु भएको बताउँदै अहिले विश्वमा भएको विकास खोज्नु र त्यहीअनुसार विकास गर्नु अहिलेको चुनौती भएको उल्लेख गर्नुभयो ।
मन्त्री पुनले भन्नुभयो, ‘अहिले हामीले गठबन्धन मार्फत, सरकारमार्फत सुरु गर्न खोजेको कुरा नेपालमा गर्न सम्भव छ भनेर आशा जगाउने, नेपाली जनता, युवाले केही गर्न सक्छन्, हामी जहाँ भए पनि नेपाल राष्ट्र निर्माण गर्न सक्छौँ भन्ने सोच ल्याउन खोजेका छौँ । सन् १९६० मा नेपाल र कोरियाको अवस्था उस्तै उस्तै थियो, हामी उनीहरूलाई चामल बेच्थ्यौँ । उनीहरू युरोप अमेरिकाको अनुदानको मकै खान्थे । अहिलेकै युवा पुस्ताले सामसङ, हुण्डाई जस्ता ठुला ठुला बहुराष्ट्रिय कम्पनी बनाएका छन् । एउटा पुस्ताले दुःख भोग्यो र अर्को पुस्ताले देश उठाएको छ ।’
उहाँले कुनै बेला चीनको पनि आधा जनसङ्ख्या भोकमरीमा रहेको तर अहिले पूर्ण रूपमा चीनले गरिबीको अन्त्य गरेको बताउँदै त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । अहिले राजनीति र सङ्गठनमा आलोचना बिक्ने गरेको बताउँदै पुनले सकारात्मक सोच राख्न आवश्यक रहेको बताउनुभयो ।