सुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतको आङ्गिक क्याम्पसको अतिक्रमित सयौंँ बिघा जमिन खाली गराउन पहल थालेको छ । सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आङ्गिक क्याम्पसअन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयले टीकापुरमा रहेको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण हटाउन पटक/पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको जनाएको छ । २०६२ सालमा तत्कालीन टीकापुर विकास समितिले क्याम्पस स्थापना गर्न तीन सय ८० बिघा जग्गा उपलब्ध गराएको थियो ।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.हेमराज पन्तले सार्वजनिक जग्गा एवम् सम्पत्तिको संरक्षण र अतिक्रमण खाली गराउने अभियानमा सरोकारवाला निकायले पनि साथ दिनुपर्ने बताउनुभयो । सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले जग्गा खाली गराउने विषयमा विश्वविद्यालयका कुलपति समक्षसमेत आग्रह गरिएको बताउनुभयो । पछिल्लो समय जग्गा अतिक्रमणको विषय महालेखा परीक्षकको प्रतिवेदनमासमेत उल्लेख भएको छ ।
यसअघि अतिक्रमण हटाउनका लागि स्थानीय तथा प्रदेश सरकार, विश्वविद्यालयका उपकुलपति तथा रजिष्ट्रारको सहभागितामा पटक–पटक सर्वपक्षीय बैठक र छलफल भएपनि विश्वविद्यालयले आफ्नो जग्गा भोगचलन गर्न पाएको छैन ।