अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 21:10

दुई दिनभित्र कार्यविधि बनाउने सहकारी छानविन समिति बैठकको निर्णय

बिआरटीनेपाल २०८१ जेठ २३ गते ७:५४ मा प्रकाशित

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको समितिको बैठकले दुई दिनभित्रमा समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेस गर्ने निर्णय गरेको हो ।कार्यविधिको मस्यौदा बनाउने जिम्मेवारी समिति सचिवालयलाई दिइएको छ । समितिको पहिलो बैठक सभामुख देवराज घिमिरेसमेतको उपस्थितिमा बसेको थियो । बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभाबाट पारित समितिको कार्यादेश, राजनीतिक दलहरुका बीचमा भएको सहमति, कार्यक्षेत्र र अनुसूचिमा समावेश भएका सहकारीको नामावलीसहितको दस्तावेज समिति सभापति सूर्य थापालाई हस्तान्तरण गर्नुभएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति थापाले तोकिएकै समयमा अनुसूचि भित्रका सहकारीहरुमा केन्द्रित भएरै काम सम्पन्न गर्नेगरी छलफल भएको जानकारी दिनुभयो । उहाँले समिति सदस्यहरुले तीन महिनाभित्र अहोरात्र काम गरेर भएपनि काम सक्ने प्रतिवद्धता व्यक्त गरेको भन्दै समितिको प्रतिवद्धता पनि त्यही रहेको बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै समिति सदस्य ईश्वरीदेवी न्यौपानेले तीन महिनाभित्रै काम सम्पन्न गर्नका लागि रात दिन नभनी काम गर्ने समझदारी भएको बताउनुभयो । उहाँले आफूहरु कुनैपनि बहानामा समय थप गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । समिति सदस्य लेखनाथ दाहालले कार्यादेशको मातहतमा बसेर समयभित्रै काम पूरा गर्ने बताउनुभयो । उहाँले समितिले गर्ने कामहरु सर्वसम्मत निर्णयको आधारमा हुने बताउनुभयो ।

समिति सदस्य शिशिर खनालले पनि तोकिएको समय तीन महिनाभित्रै काम सम्पन्न गरिने बताउनुभयो । उहाँले आफूहरुले जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको पनि बताउनुभयो । समितिको तीन महिनाको समय आज पहिलो बैठक बसेको दिनदेखि प्रारम्भ हुने जनाइएको छ । समितिको आगामी बैठक शुक्रबार बस्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय