प्रतिनिधि सभामा आज दुई वटा प्रतिवेदन प्रस्तुत भएका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८०’ र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेश गर्नुभएको हो । बैठकको शून्य समयमा सांसदहरूले जनसरोकारका विभिन्न विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । अहिले बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ ।
छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद धनराज गुरुङले बजेटले राखेको १२ खर्ब ६० अर्ब राजस्व उठाउने लक्ष्य सहजै भेटाउन सकिने बताउनुभयो । उहाँले औषधि प्रयोजनका लागि गाँजा खुला, घरेलु जाँड–रक्सी बिक्री गर्ने कानुनी व्यवस्था, जडीबुटी खेती र गैरकानुनी कारोबार नियन्त्रण गर्ने हो भने १९ खर्ब रुपैयाँ राजस्व उठाउन सकिने बताउनुभयो । उहाँले राजस्व बढाउनतिर नलागेर ऋण लिनु बेठीक भएको बताउनुभयो ।
यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले वैदेशिक ऋण लिएर सङ्घीयता धान्ने कुरा गलत भएको टिप्पणी गर्नुभयो । यसैगरी नेकपा एमालेका सांसद रघुजी पन्तले कृषिमा लगानी दशकको घोषणा, महिलामा लगानी दशकको घोषणा भएको तर त्यसअनुसार बजेट विनियोजन नभएको भन्दै बजेट अन्तरविरोधी देखिएको बताउनुभयो ।