अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 00:37

देशभर तापक्रम केही घट्यो

बिआरटीनेपाल २०८१ जेठ १९ गते ८:४४ मा प्रकाशित

देशभर थोरै तापक्रम घटेको छ । शुक्रबारको तुलनामा शनिबार तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “हिजो र अस्तिको तुलनामा तापक्रम घटेको छ,” महाशाखाका मौसमविद् रोजन लामिछानेले भन्नुभयो, “बदली (आकाशमा बादल) र वर्षाले तापक्रम केही घटेको हो ।” तत्काल तापक्रम धेरै बढ्ने सम्भावना नरहेको उहाँले उल्लेख गर्नुभयो । तराईमा पनि अब तापक्रम ४० डिग्री सेल्सियसको आसपासमा रहने अनुमान गरिएको उहाँको भनाइ छ । “तत्काल तापक्रम बढ्नेजस्तो स्थिति छैन । ४२/४३ अब पुग्नेजस्तो अहिले अवस्था देखिँदैन,” उहाँले भन्नुभयो ।

यही वैशाख १७ गते कैलालीको टीकापुरमा ४५.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यो नै यो वर्ष नेपालभित्र मापन गरिएको अहिलेसम्म उच्च तापक्रम भएको मौसमविद् लामिछानेले जानकारी दिनुभयो । सोही दिन कैलालीको धनगढीमा अधिकतम तापक्रम ४४.१२ र बाँकेको नेपालगन्जमा ४४.२ डिग्री सेल्सियस मापन गरिएको उनले बताए । अहिलेको अवस्थाअनुसार अब त्यति तापक्रम पुग्न सम्भावना नदेखिएको उहाँले स्पष्ट पार्नुभयो ।

हाल देशमा स्थानीय, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायुका कारण काठमाडौंसहित शनिबार देशका विभिन्न स्थानमा वर्षा भएको उहाँले बताउनुभयो । महाशाखाले शनिबार बेलुका जारी गरेको २० स्थानका विवरणमध्ये यस दिन नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा धेरै ४१.४ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार ९हिजो० नेपालगन्जको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस थियो ।

शनिबार धनगढीको अधिकतम तापक्रम ४०.७, दिपायलको ३९.४, वीरेन्द्रनगरको ३८.१, भैरहवाको ३७.२ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार धनगढीको अधिकतम तापक्रम ४२.५, दिपायलको ४१.२, वीरेन्द्रनगरको ४०.४ डिग्री सेल्सियस मापन गरिएको थियो । भैरहवाको अधिकतम तापक्रम भने शनिबारको तुलनामा शुक्रबार केही कम ३६.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

शनिबार काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । यो वर्ष अहिलेसम्म काठमाडौंको सबैभन्दा बढी तापक्रम गएको बिहीबार (जेठ १७) र जेठ ११ मा समान ३४.४ मापन गरिएको थियो । काठमाडौंमा हालसम्मकै उच्च तापक्रम भने सन् १९८९ मे ७ मा मापन गरिएको थियो । त्यस दिन काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, १९८९ पछि काठमाडौंमा सबैभन्दा धेरै गर्मी २०१५ जुलाई २८ मा भएको थियो । त्यस दिन काठमाडौंको अधिकतम तापक्रम ३४।६ डिग्री सेल्सियस मापन गरिएको थियो । उक्त वर्ष नेपालमा जुन १३ मा मनसुन भित्रिएको थियो । नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीमा मापन गरिएको तापक्रम नै अहिलेसम्म नेपालमा सबैभन्दा धेरै हो । त्यस दिन धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय