अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३ | Colorodo: 00:48

टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्यो : रोहित

बिआरटीनेपाल २०८१ जेठ १९ गते ८:०६ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसकेको बताउनुभएको छ । शनिबार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान पौडेलले यस्तो बताउनुभएको हो । कप्तान पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सबै किसिमबाट सक्षम टिम हो भन्ने सन्देश विश्वकपमा दिने बताउनुभयो । उहाँले आफूहरु विश्वकपका लागि उत्साहित रहेको बताउनुभयो । उहाँले करिब २५ दिनेदेखि नेपाली टोलीले वेस्टइण्डिज र अमेरिकामा अभ्यास गरिहरेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयार रहेको बताए । उनले राम्रो खेलेर समर्थकहरुलाई उपहार दिने बताउनुभयो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पहिलो खेलका लागि केन्द्रित भएर अभ्यास गरिरहेको बताउनुभयो । उनले सबै किसिमले अब नेपाल विश्वकप खेल्न तयार रहेको बताउनुभयो । उहाँले यस पटक दुई वटा देशमा विश्वकप हुने भएको सो स्थानहरुको वातावरणमा भिज्न र अभ्यास गर्न नेपाल एक महिना अगाडि नै विश्वकप आयोजना हुने देशमा पुगेको र अभ्यास जारी राखेको बताउनुभयो । उहाँले नेपाललाई ब्याटिङ र बलिङमा उत्कृष्टता आवश्यक रहेको भन्दै स्पिनरमा ललित र सागरले जिम्मेवारी सम्हाल्ने बताउनुभयो ।

उहाँले दीपेन्द्र सिंह ऐरी सबै किसिमले फिट रहेको बताउँदै नेपाली टिममा सबै किसिमले ब्यालेन्स मिलेको बताउनुभयो । जुन २ बाट अमेरिका र वेस्टइण्डिजमा टि २० विश्वकप सुरु हुँदैछ । नेपालको खेल भने जुन ४ मा नेदरल्याण्डसँग रहेको छ ।

प्रतिक्रिया