अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 03:42

नेपालगञ्ज र धनगढीकाे तापक्रम आज पनि ४२ डिग्री सेल्सियसभन्दा माथि

बिआरटीनेपाल २०८१ जेठ १८ गते ७:१५ मा प्रकाशित

पश्चिम तराईका जिल्लाहरू बाँकेको नेपालगञ्ज र कैलालीको धनगढीमा आज पनि तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि नै रहेको छ ।हिजो नेपालगञ्ज र धनगढीको उच्चतम तापक्रम ४४ डिग्रीभन्दा माथि पुगेको थियो । तर आज हावाको गति केही बढेका कारण नेपालगञ्ज, धनगढीलगायतका क्षेत्रमा उच्चतम तापक्रम केही घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो नेपालगञ्जमा ४२ दशमलव ५ र धनगढीमा ४२ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै आज दिउँसो साडेँपानीमा ४१ दशमलव ६, सिक्टामा ४२ दशमलव २, बैजपुर र भगवानपुरमा ४२ दशमलव ३ डिग्री सेल्सियस मापन भएको छ । दोधारामा ४१ दशमलव ४, दिपायलमा ४१, रानीजरुवामा ४० दशमलव २ डिग्री सेल्सियस मापन भएकाे छ । त्यस्तै सुर्खेतकाे वीरेन्द्रनगरको अधिकतम तापक्रम हिजो ४१ डिग्री सेल्सियस रहेकोमा आज केही घटेर ४० दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

पश्चिमका यी क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले निकालेको साप्ताहिक कृषि बुलेटिनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अझै एक हप्ता बदली र वर्षाकाे सम्भावना नरहेको जनाएको छ । यसको अर्थ अझै एक हप्ता गर्मी कायमै रहन्छ । गर्मीसँगै अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । देशकै उच्च गर्मी हुनेमध्येको एक बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालका डा. पवनजङ्ग रायमाझीका अनुसार गर्मीकै कारण अस्पतालमा बिरामीको चाप बढेको छ । गर्मीबाट जोगिन पानी तथा सर्बत प्रशस्त मात्रामा पिउन र अति आवश्यक नपरि घरबाट बाहिर ननिस्कन उहाँको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय