अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 18:34

सरकारले ल्याएको बजेट सन्तुलित तथा समयसापेक्ष : अध्यक्ष केसी

बिआरटीनेपाल २०८१ जेठ १७ गते ८:०८ मा प्रकाशित

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले ल्याएको बजेट सन्तुलित तथा समयसापेक्ष रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले अर्थतन्त्रमा देखिएको समस्या र विषम परिस्थितिकाबीच पनि सरकारले सन्तुलित तथा समयसापेक्ष बजेट आउनु सकारात्मक भएको टिप्पणी गर्नुभयो । उहाँले पर्यटन, जलविद्युत, स्टार्टअप, सूचना प्रविधि लगायत प्रचुर सम्भावनाका क्षेत्रहरूलाई पहिचान गरी प्राथमिकतासाथ बजेट छुट्टाउनु राम्रो पक्ष भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष केसीले पर्यटन, जलविद्युत्, स्टार्टअप, सूचना प्रविधि लगायत क्षेत्रमा प्राथमिकता साथ बजेट छुट्याउनु बैंकिङ क्षेत्रलाइ फाइदा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रलाई सँगसँगै अगाडि लैजाने बजेटमा आउँदा बैंकलाई लगानी बढाउने अवसर भएको दाबी गर्नुभयो ।

अध्यक्ष केसीले बैंकमा अधिक तरलता भएको अहिलेको अवस्थामा सरकारले बजेटमार्फत सरकारले लिएको नीतिले लगानीका लागि थप सहज हुने जिकिर गर्नुभयो । उहाँले यसका लागि सरकारसँग बैंकिङ क्षेत्र सहकार्य गर्न तयार रहेको घोषणा गर्नुभयो । उहाँले विदेशबाट ऋण ल्याउँदा ब्याजदरमा लाग्ने कर घटाइनु राम्रो पक्ष भएको बताउनु भयो । बैंकको सुरक्षा लगायतमा सचेतना कार्यक्रम गर्ने लक्ष्य बजेटमै आउँदा बैंकिङ क्षेत्रको मनोबल बढेको बताउनुभयो । उहाँले आगामी दिनमा मौद्रिक नीतिले केही विषयहरूलाई अगाडि बढाउँदा बजेटले लिएका लक्ष्य पूरा गर्न सहज हुने बताउनुभयो ।

अध्यक्ष केसीले सामाजिक सुरक्षा कोषमा लाग्ने दोहोरो कर हटाउनुपर्ने, निष्क्रिय कर्जा अनुपात बढ्दै जाँदा बैंकलाई कर छुट दिनुपर्ने जस्ता सुुझाव भने बजेटले पूरा नगरेको गुनासो गर्नुभयो । उहाँले सरकारी अफिस, मालपोत तथा कर कार्यालय बैंकिङ प्रणालीमा जोड्ने बजेटको उद्देश्य स्वागतयोग्य भएको भन्दै नीतिका कारण बैंकको लागत पनि कम हुने अपेक्षा गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू