अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५८ | Colorodo: 17:13

‘अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता’ सम्मेलन जेठ १९ र २० गते हुने

बिआरटीनेपाल २०८१ जेठ १६ गते ६:२७ मा प्रकाशित

नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले यही जेठ १९ र २० गते दुई दिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्ने भएको छ । नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको १०० वर्ष पुगेको अवसरमा मातृभाषा पत्रकारिता शताब्दी वर्ष मनाउन यो सम्मेलनको आयोजना गर्न लागेको हो ।नेपालका विभिन्न भाषाभाषी पत्रकारहरुका साथै भारत, बङगलादेश, पाकिस्तान, जापान, श्रीलङ्का लगायतका देशका पत्रकारको सहभागिता रहने यस सम्मेलनमा भर्चुअल माध्यमबाट समेत सहभागी हुने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

जेठ १९ गते शनिबार स्टाफ कलेज ललितपुरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नहुने सम्मेलनमा विभिन्न विषय केन्द्री प्यानल छलफल हुनेछ भने दोश्रो दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा थिमिमा समापन समारोह हुने छ । १०० वर्षअघि नेपालभाषा पत्रिका “बुद्ध धर्म व नेपालभाषा” सम्पादन एवं प्रकाशन गर्नुभएका प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य १२२ औं जन्मजयन्ती, ९ औं मातृभाषा पत्रकारिता दिवस तथा नेपालमा पहिलो मातृभाषा नेपालभाषाबाट प्रकाशित “बुद्धधर्म व नेपालभाषा” प्रकाशित भएको १०० वर्ष पुगेको उपलक्ष्यमा सम्मेलनका साथै बर्ष भरी विभिन्न कार्यक्रम आयोजना हुने पनि आयोजकले जनाएको छ ।

सम्मेलनका लागि सार्क जर्नालिष्ट फोरमले विभिन्न देशका प्रतिनिधि पत्रकारहरुको संयोजनमा सहयोग गरेको छ भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघले देशभित्रका विभिन्न मातृभाषी पत्रकारहरुको सहभागिताका लागि संयोजन सहयोग गरेका छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय