अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६ | Colorodo: 07:11

महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०८१ जेठ १६ गते ६:२६ मा प्रकाशित

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताउनुभएको छ । बुधबार नेकपा(एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले महिलाहरु राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताउनुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीले महिलाहरुले पेशा, वर्ग र महिलाका सामुदायिक मुद्दाहरुका साथै राष्ट्रिय मुद्दाहरुमा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले महिलाहरुले केवल महिलाको मात्रै विषय नभएर समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेण्डाहरुमा पनि नेतृत्व लिनुपर्ने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले लैंगिक समानताको विषय महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको उल्लेख गर्दै सचेतना तथा सशक्तिकरणका अभियानहरु महिला र पुरुष दुवैमा लक्षित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाविरुद्ध हुने असमानता, विभेद र हिंसाको मुल कारण पुरुष नभएर शोषणमा आधारित सामाजिक र आर्थिक व्यवस्था रहेको बताउनुभयो । उहाँले व्यक्तिगत सचेतना वा सशक्तिकरणमा मात्र सिमित नभइ महिला मुक्तिको सवाललाई समग्र सामाजिक मुक्ति वा रुपान्तरणको विषयसँग जोड्नुपर्ने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले महिलाहरुको जनस्वास्थ्यमा गम्भीर चुनौति देखापरिरहेको भन्दै यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । उहाँले महिलाको स्वास्थ्य नराम्रो भएमा परिवारले दुःख पाउनुका साथै देशले नै क्षति व्यहोर्ने भन्दै यसप्रति सचेत हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय