बितेको एक वर्षमा न्युजिल्यान्डले विश्वका एक सयभन्दा बढी देशमा पाउडर दूध निर्यात गरेको छ । सन् २०२३ को अप्रिलदेखि गएको अप्रिलसम्ममा पाँच अर्ब ९१ करोड अमेरिकी डलर बराबरको दूध पाउडर निर्यात भएको न्युजिल्यान्डकाे तथ्याङ्क विभागलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
न्युजिल्यान्डले निर्यात गरेको दूध पाउडरको झन्डै ३० प्रतिशत चीनमा गएको छ । न्युजिल्यान्ड विश्वकै सबैभन्दा धेरै पाउडर दूध निर्यात गर्ने देश पनि बनेको छ । सन् २००८ मा चीनसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि चीनमा निर्यात बढेको तथ्याङ्क विभागका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक अलास्डेयर एलेनले बताउनुभयो ।
पाउडर दूध न्युजिल्यान्डबाट सबैभन्दा ठूलो मात्रामा विदेश निर्यात हुने वस्तु रहेको तथ्याङ्क विभागले पुष्टि गरेकाे खबरमा उल्लेख छ । न्युजिल्यान्डकाे दूध पाउडर निर्यात मूल्य बढ्दै गए पनि सन् २०१४ देखि डेरी र गाईवस्तुको सङ्ख्या क्रमशः घट्दै गएको छ ।