अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 06:05

गृहमन्त्री लामिछानेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन विश्वप्रकाशको माग

बिआरटीनेपाल २०८१ जेठ १० गते ५:५३ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।बिहीबार नेपाल विद्यार्थी संघ झापा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो ।महामन्त्री शर्माले उपप्रधान एवं गृहमन्त्री लामिछानेले संसदको बैठकमा सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति संसदमा दिएको भन्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुुभयो । उहाँले गृहमन्त्रीले संसदमा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने बताउनुभयो ।

महामन्त्री शर्माले सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ? भन्दै प्रश्न गर्नुभयो । सहमति नभए संसदको रेकर्डबाट गृहमन्त्रीको उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न आग्रह गर्नुभयो । भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभइ ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरुको फाइल खोलेर कारबाही गर्न उहाँले आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले कांग्रेसका कसको कसको छानबिन गर्ने हो गरे हुने तर गम्भीर रुपमा छानबिन हुनुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले रवि दोषी देखिए आफूहरु राजनीति छोड्ने र कांग्रेसका कोही व्यक्ति दोषी देखिए कांग्रेसले राजनीति छोड्नुपर्ने चुनौति दिएकोप्रति इंगित गर्दै कोही व्यक्ति दोषी देखिए पार्टीले राजनीति गर्न छोड्नुपर्ने अहिलेको समय सती प्रथाको नभएको जिकिर गर्नुभयो । उहाँले एक जना दोषी देखिए सबैले राजनीति छोड्ने कुरा सती प्रथा सरह भएको भन्दै सती प्रथा चन्द्र समशेरले अन्त्य गरिसक्नुभएको बताउनुभयो ।

महामन्त्री शर्माले राजनीति राम्रो भए देशको विकासले फड्को मार्ने बताउनुभयो । उहाँले राजनीतिमा लामो समय रही रहनुपर्छ भन्ने नसोचि राजनीति राम्रो बन्नुपर्नेकुरामा बढी ध्यान दिन जरुरी रहेको बताउनुभयो । महामन्त्री शर्माले देश बनाउने मिसनमा सबै सामेल हुनुपर्ने बताउनुभयो । नेपाल अनन्त सम्भावना रहेको देश भएको पनि बताउनुभयो । उहाँले राजनीतिमा कुनैपनि संकट नरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय