नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । जेठ ९ गते बिहान ११ गते पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति र दलको संयुक्त बैठक बोलाएको हो । कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको एक मात्र एजेन्डा समसामयिक राजनीतिकका सन्दर्भ राखिएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्मा अवरोध गरी रहेका कांग्रेसले सडक आन्दोलनमा जान संयुक्त बैठक बोलाएको बुझिएको छ ।
नेताहरूका अनुसार सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार नभएपछि कांग्रेस सदनसँगै सडक आन्दोलनमा जाने तयारीमा छ । आज दिउँसो बसेको विपक्ष दलको बैठकले पनि सहकारी ठगीको मुद्दामा संसद्सँगै सडकमा पनि मोर्चाबन्दी गर्ने निर्णय गरेको थियो । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीले संसद्मा उठाएको मुद्दालाई सडकमा लैजान संयुक्त बैठकको माग गर्दै आउनुभएको थियो। सरकारमा रहेका श्वेत अपराधीलाई कानुनको सिंकन्जामा ल्याउन संसद्को सङ्घर्षबाट मात्र नपुगेको भन्दै संयुक्त बैठकबाट सडक सङ्घर्षमा जानुपर्ने उहाँले बताउनुभयो।
‘अब जनताको सहभागिता सहितको सङ्घर्ष आवश्यक छ । यसका लागि संयुक्त बैठकले बृहत् विमर्श मन्थनका साथ प्रभावकारी खबरदारी सङ्घर्षमा जानुपर्छ,’ महरले भन्नुभयो ।