काठमाण्डौको दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन् । काठमाण्डौ जिल्ला प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरेर अभियुक्तहरूलाई सार्वजनिक गरेको हो ।पक्राउ पर्नेहरूमा भक्तपरको चाँगुनारायण नगरपालिकाका २१ वर्षीय सचिन परियार, नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिकाकी २१ वर्षीया बसुन्धारा कार्की र ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटको तादी गाउँपालिकाका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका ३० वर्षीय अमृत तामाङ तथा उदयपुरका १३ वर्षीय किशोर रहेका जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो । उनीहरू अहिले काठमाण्डौका विभिन्न ठाउँका सडक पेटी, निर्माणीधन घरहरूमा आश्रय बनाई बस्दै आएका व्यक्ति हुन् ।
ड्युटी सकेर सहकर्मीहरूसँग छुट्टिएका प्रहरी जवान युवराज घिमिरे घर जानुअघि खाजा/नास्ता खान काठमाण्डौको तारकेश्वर नगरपालिका–११ मा रहेको एक खाजा घरमा प्रवेश गर्दा सचिन र अञ्जली पनि त्यही खाजा खान आइपुगेका प्रहरीले जनाएको छ । युवराज र सचिनबीच परिचय रहेको तथा सचिनकै आग्रहमा युवराजले उनीहरूलाई अहिले आश्रय लिइरहेको ठाउँसम्म मोटरसाइकलमा पुर्याएका थिए । त्यहाँ पुगिसकेपछि प्रहरी जवान युवराजको हेल्मेट खोसेर सचिनले उनलाई प्रहार गरेका तथा त्यहाँ रहेका बसुन्धारा, नुनमाया, बुद्ध, अमृत र किशोरले रड, इँटा ढुङ्गालगायतको प्रयोग गरी हत्या गरेका प्रहरीले जनाएको छ ।
युवराजलाई कुटपिट गरी हत्या गर्नुमा लुटपाट, महिलासँगको विवादलगायतका कारण हुनसक्नेतर्फ प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको शव गएको शुक्रवार तारकेश्वरको मनमैजुमा फेला परेको थियो ।