अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५६ | Colorodo: 11:11

संसद्लाई धेरै समय बन्धक बनाएर राख्नुहुँदैन : सभामुख

बिआरटीनेपाल २०८१ जेठ ५ गते ५:४५ मा प्रकाशित

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद्लाई यसरी लामो समय बन्धक बनाएर राख्न नहुने बताउनुभएको छ । यसरी धेरै समय संसद्लाई बन्धक बनाएर राख्यो भने संसद् अधिवेशन अन्त्य गरेर गर्नु पर्ने कार्यहरू अध्यादेशमार्फत गर्न सकिने भए पनि तर लोकतन्त्रका लागि यो राम्रो नहुने सभामुखले बताउनुभएको हो । उहाँले संसद्मा जे गतिविधि भइरहेको छ त्यो ठिक नभएको बताउनुभयो । ‘संसद् बन्धक बनिरहेको छ, जनताको कुरा उठेको छैन,’ घिमिरेले भन्नुभयो, ‘अब सधैँ यस्तै रहन हुँदैन ।’ संसद् खुलाउन सबैको तर्फबाट पहल हुनु पर्ने बताउँदै उहाँले पत्रकारिताले लोकतन्त्रका लागि काम गर्नुपर्ने सुझाउनुभयो । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको चौथो साधारण तथा पत्रकारिताको सामयिक विमर्श कार्यक्रममा बोल्दै सभामुख घिमिरेले राजनीति रूपमा देखिएका विसङ्गतिको अन्त्य गर्न पत्रकारले भूमिका खेल्नु पर्ने बताउनुभयो ।

पत्रकारले आफ्नो भूमिकामा प्रस्ट नरहेको तथा भूमिका नै नपाएको हो कि जस्तो आफूले पाएको उहाँको भनाई थियो । कांग्रेसका नेता एवं पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजालले प्रतिनिधि सभामा आफूलाई कांग्रेसले नचाहेको र त्यहाँ आफू नभएको कारण प्रतिनिधि सभामा भइरहेको घटनाक्रमको बारेमा आफूले केही टिप्पणी नगर्ने बताउनुभयो । टिप्पणी गर्न आफूसँग धेरै कुरा रहेको तर आफू त्यस लायक नभएको कारण टिप्पणी नगर्ने बताउँदै उहाँले निर्वाचन जित्दैमा सबै थोक आफैमा रहेको कुरा ठान्न नहुने बताउनुभयो । अहिले संसद्लगायतका ठाउँमा भइरहेको गतिविधिले गर्दा संविधानलाई असर पुर्‍याउने अवस्था रहेको रिजालको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय