जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताउनुभएको छ । मधेसी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री यादवले अतृप्त आत्माहरुको हतास मानसकिता भएकाहरुलाई प्रयोग गरेर पार्टी फुटाइएको बताउनुभएको हो ।
उपप्रधानमन्त्री यादवले २/४ जना लोभी पापीलाई पार्टीबाट फुटाउँदैमा युद्ध जिते जस्तो सोच्नु दिवा स्वप्ना मात्रै रहेको बताउनुभयो । निर्दलीय व्यवस्थाबिरुद्ध लडेका काँग्रेस कम्युनिष्टविरुद्ध पनि यस्तै षड्यन्त्र हुने गरेको बताउनुभयो । पार्टीबाट केही लोभीहरु अलग्गिँदैमा जसपा नेपाल कमजोर नहुने दाबी गर्दै अब जसपा नेपाल थप गतिका साथ अगाडी बढ्ने स्पष्ट पार्नुभयो ।
उहाँले मधेसको मुद्दा र संघियता संस्थागत गर्नका लागि पार्टी थप उर्जाका साथ सडक, संसद तथा सरकारमा संघर्ष जारी राख्ने बताउनुभयो । अर्को प्रसंगमा उपप्रधानमन्त्री यादवले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र सोको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।