बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्न जाने विद्यार्थीको नाम चिकित्सा शिक्षा आयोगले जारी गरेको सूची भन्दा फरक व्यक्तिको नाम सिफारिस गरेको पाइएको छ । एमबीबीए र बीडीएस पढ्नका लागि बङ्गलादेश सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा आयोगले सिफारिसको भन्दा १० जना विद्यार्थी अरू नै सिफारिस भएको पाइएको हो ।आयोगको सिफारिसको आधारमा शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत नेपालस्थित बङ्गलादेशको राजदूतावासमा सूची पठाएको थियो । तर, अहिले आएर आयोगले सिफारिस गरेका १० विद्यार्थीको नाम काटेर अर्कै व्यक्तिको नाम सूचीमा आएको पाइएको हो ।
आयोगले पठाएको सूचीभन्दा फरक ढङ्गले बङ्गलादेश सरकारले सूची सार्वजनिक गरेपछि विद्यार्थीहरू तनावमा परेका छन् । केही दिनबाट बङ्गलादेशमा पठनपाठन सुरु हुँदैछ । तर, सूची नै फरक आएपछि सूचीमा परेका विद्यार्थीलाई समेत बङ्गलादेश जान रोकेको छ ।बङ्गलादेशको छात्रवृत्ति सूचना नेपालको परराष्ट्र मन्त्रालयमार्फत शिक्षा मन्त्रालयमा आउँछ । त्यसपछि शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा सेवा आयोगमा पठाउँछ । आयोगले मापदण्डका आधारमा उत्कृष्टताका आधारमा छनोट गर्ने गरेको छ । त्यही लिस्ट शिक्षा मन्त्रालयले परराष्ट्रमार्फत बङ्गलादेश पठाउने र बाँकी प्रक्रिया बङ्गलादेशकै कानुन अनुसार हुन्छ ।
त्यसरी सूची पठाउने क्रममा नेपालको तर्फबाट केही गल्ती भयो कि भनेर सरोकारवाला मन्त्रालयबिच समेत छलफल भएको थियो । तर, त्यसमा कुनै समस्या नदेखिएको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक अधिकारीले आयोगबाट आएको सूचीलाई परराष्ट्र मन्त्रालयमा पठाइएको र परराष्ट्र मन्त्रालयले समेत सोही सूची बङ्गलादेशको दूतावासमा पठाएको बताउनुभयो ।कूटनीतिक नोटका विषयमा बङ्गलादेश सरकारबाट हालसम्म कुनै प्रतिक्रिया नआएको परराष्ट्रका एक अधिकारीले बताउनुभयो । यो विषयमा संसद्को शिक्षा समितिमा समेत छलफल भइरहेको छ ।
आयोगले पठाएको सूची हामीले बङ्गलादेशलाई पठाएको पाइएको छ । यस विषयमा परराष्ट्र मन्त्रालयले पनि शिक्षा सचिव र परराष्ट्र सचिवलाई नै राखेर बैठक गरेको थियो । त्यसपछि बङ्गलादेशलाई एउटा ‘कूटनीतिक नोट’ पनि पठाइसकेको छ,’ ती अधिकारीले भने ।परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारको पत्रको आधारमा २२ जना विद्यार्थीलाई छात्रवृत्ति दिनेबारे पत्र शिक्षा मन्त्रालयलाई पठाएको थियो । सोही आधारमा आयोगले छात्रवृत्तिमा तोकिएको संख्या अनुसार छनौट गरी उम्मेदवारहरूको विवरणसहितको नामावली र आयोगले प्रकाशित गरेको सूची अनुसार नै शिक्षा मन्त्रालयले सूची परराष्ट्रलाई पठाएको थियो । परराष्ट्रले त्यही आधारमा दूतावासमा पेस गरेको थियो ।
दूतावासबाट आएको नाममा १० जना एमबीबीएस र २ जना बीडीएसका लागि अध्ययन गर्ने विद्यार्थीको मात्रै नाम आएको थियो । ती बाहेक १० जनाको हकमा भने सूची बाहेकको नाम आएको पाइएको हो ।शिक्षा मन्त्रालयले २०८१/०१/२३ गते मन्त्रीस्तरीय निर्णय गर्दै आयोगले सिफारिस गरेकै विद्यार्थीहरूलाई छात्रवृत्तिमा पढ्न पाउने व्यवस्था मिलाईदिन अनुरोध गर्दै पत्राचार गरेको थियो । यस विषयमा बङ्गलादेश सरकारबाट हालसम्म कुनै जवाफ नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।