प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरू नाफामा गएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगमलगायतका सार्वजनिक संस्थाहरु नाफामा गएका जानकारी दिनुभएको हो ।
“सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार गरिँदै छ । नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएका छन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । हालै सम्पन्न लगानी सम्मेलनमा उत्साहवद्र्धक रूपमा विदेशी लगानीकर्ताहरूको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको दाबी गर्दै प्रधानमन्त्रीले आफूले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति र अहिलेको देशको आर्थिक स्थितिमा धेरै सुधार भएको जिकिर गर्नुभयो । शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधारजस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि बढेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याई लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको बताउनुभयो । “मैले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति के थियो रु तपाईं हामी कुन सन्त्रासमा गुज्रिएका थियौँ भन्नेकुरा हामी सबैलाई थाहा छ । तर अहिले क्रमशः सुधार आइसकेको छ । शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजस्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु विस्तारै सकारात्मक दिशातिर अघि छन् । वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याई लगानीको वातावरण सिर्जना गरिएको छ । बैंकको ब्याजदर घटाइएको छ । लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको छ,” प्रधानमन्त्रीले भन्नुभयो ।