अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२५ | Colorodo: 11:40

तराई मधेशका जिल्लामा उखरमाउलो गर्मी, तातो हावा चलेका बेला घरबाहिर ननिस्कन आग्रह

बिआरटीनेपाल २०८१ वैशाख १२ गते ७:४८ मा प्रकाशित

तराई मधेशका सबैजसो जिल्लामा आज पनि उखरमाउलो गर्मी कायमै रहेको छ । आज भैरहवा र तौलिहवामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्यो । अरू धेरै ठाउँको अधिकतम तापक्रम पनि ४० डिग्री सेल्सियस वा त्यसकै हाराहारीमा पुगेको छ ।तराई मधेशका जिल्लामा दिउँसो मात्रै नभई रातकाे समयमा पनि अत्यधिक गर्मी रहेको स्थानीयवासीले बताएका छन् । तातो हावा चलेका कारण दिउँसो घरबाहिर निस्कनै मुस्किल परेको छ । तराई मधेशका जिल्लासँगै मध्यपहाडका उपत्यका तथा खोँचहरूमा पनि गर्मी अत्यधिक बढेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा अर्थात् ‘लू’ बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ ।  मन्त्रालयले तराईमा तातो हावा चलेकाले बच्न सबैलाई आग्रह गरेको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला दिउँसो घरबाहिर ननिस्कन आग्रह गर्नुभयो । तातो हावाको असरबाट बच्न धेरै पानी पिउने, चिसो पानीले नुहाउने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको छोप्ने तथा शीतल हुने कपडा लगाउनुपर्दछ ।

घरबाहिरको काम बिहान वा बेलुका मात्र गर्न, कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउन, फलफूल, काँक्रोजस्ता ताजा खानेकुरा खान मन्त्रालयले आग्रह गरेको छ । अत्यधिक गर्मीका बेला जाँड–रक्सी, बोतलमा राखिएका पेयपदार्थ, सोडा र चिया, कफी, नखान स्वास्थ्यकर्मीको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू