अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 10:51

इजरायल–हमासबीच आउँदो सोमवारसम्ममा युद्धविरामको घोषणा हुन सक्छ : अमेरिकी राष्ट्रपति बाइडेन

बिआरटीनेपाल २०८० फागुन १५ गते ५:१७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच आउँदो सोमवारसम्ममा युद्धविरामको घोषणा हुन सक्ने बताउनुभएको छ ।कतारमा इजरायल र हमासका प्रतिनिधिहरूबीच भइरहेको वार्तामा केही प्रगति भएको रिपोर्टका बीचमा बाइडेनको टिप्पणी आएको हो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले आफूलाई दिएको जानकारीअनुसार दुवै पक्ष युद्धविरामको नजिकै रहेको बाइडेनको भनाइ छ ।

न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै बाइडेनले इजरायलको मुख्य सहयोगी भएको नाताले आफू अब इजरायल युद्धविरामका लागि तयार हुने आशामा रहेको पनि बताउनुभयो । इजरायलले हमासविरुद्ध अभियान चलाउँदा सर्वसाधारणको सुरक्षाको बारेमा सोच्नैपर्ने बाइडेनको भनाइ छ । गाजामा तत्काल युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई गएको हप्ता अमेरिकाले भिटो गरेको भन्दै व्यापक आलोचना भएको थियो । यसको सट्टामा अमेरिकाले अस्थायी युद्धविरामकाे प्रस्ताव गरेको छ भने इजरायललाई दक्षिणी गाजाको शहर रफाहमा आक्रमण नगर्न चेतावनी दिएको छ ।

गएको अक्टोबर ७ तारिखमा १२ सय जनाको ज्यान जाने गरी हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले अहिले बदला लिइरहेको छ । बदलाका क्रममा गाजामा झन्डै ३० हजार जनाको ज्यान गएको छ भने शहर लगभग ध्वस्त भइसकेको छ । हमासले दुई सय ५३ जनालाई बन्धक बनाएकोमा अझै केही रिहा हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू