बाँसबारी छालाजुत्ता जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई हाजिर जमानीमा छाड्न आदेश दिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य मुगु सरुवा हुनुभएको छ । केही महिनाअघिमात्र सरुवा भएर काठमाडौँ जिल्ला अदालत ल्याइएका आचार्यलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फेरि मुगु जिल्ला अदालत सरुवा गर्नुभएको हो ।
प्रहरीले अनुसन्धानका लागि चार दिन म्याद लिएकै बेला काठमाडौँ जिल्ला अदालतले फेरि दुई दिनमै चौधरीलाई जमानतमा छाड्न आदेश दिएको थियो। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत यसको आलोचना गर्नुभएको थियो । बाँसबारी छाला जुत्ता प्रकरणमा १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका चौधरी काठमाडौँ जिल्ला अदालतको आदेशमा ६ दिनमै रिहा भएपछि आचार्य विवादित बन्नुभएको थियो ।