अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२३ | Colorodo: 11:38

सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङ दोषी ठहर

बिआरटीनेपाल २०८० माघ ७ गते ५:२६ मा प्रकाशित

विशेष अदालतले सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई दोषी ठहर गरेको छ।उनीविरूद्ध एक वर्षअघि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सोही मुद्दामा अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू हेमनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठले तामाङलाई दोषी ठहर गरेको विषेश अदालतले जनाएको छ।

सम्पत्ति शुद्धीकरण विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा हालेको थियो।यस्तै एक कित्ता जग्गासहित विभिन्न ६९ कम्पनीमा रहेको विभिन्न कित्ता शेयर पनि जफत गर्न माग गरेको थियो।तामाङकी श्रीमती सिर्जना शाक्य तामाङसँग पनि एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। उनको एउटा सवारी साधन, विभिन्न कित्ता जग्गा र विभिन्न स्थानको कसुरबाट प्राप्त भएको जग्गा पनि जफत गर्नुपर्ने विभागको माग थियो।

इच्छाराज तामाङले ठगी गरेको उजुरी परेपछि केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान गरेको थियो। अनुसन्धान गरी उनी लगायतले ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ठगी गरेको भन्दै ब्युरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो।यसमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दा आकर्षित भएपछि विभागले पनि अनुसन्धान थालेको हो। उनीहरूले आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रूपान्तरण समेतका निषेधित कार्य गरी सम्पत्ति शुद्धीकरण कसुर गरेको विभागको ठहर थियो। त्यस्तै इच्छाराजले आफ्ना परिवारका सदस्यहरू बीच अंशबण्डासमेत गरेको जनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय