अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

संसदको महासचिव नियुक्त गर्न राष्ट्रपतिलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षको ताकेता

बिआरटीनेपाल २०८० माघ ७ गते ५:१२ मा प्रकाशित

संघीय संसदको महासचिव नियुक्त गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र पठाएर ताकेता गर्नुभएको छ । महासचिवबाट भरतराज गौतमले गत मंसिर २४ गतेदेखि लागू हुने गरी राजीनामा दिए पनि रिक्त महासचिव पदमा अझै नियुक्ति गरिएको छैन। महासचिव सिफारिस गरेको लामो समयसम्म पनि राष्ट्रपति कार्यालयले नियुक्ति अघि नबढाएकोमा सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति कार्यालयमा स्मरण पत्र पठाएको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो।

महासचिव सिफारिस गरेको एक महिनाभन्दा बढी समय भइसक्दा पनि नियुक्ति नगरिएको भन्दै स्मरण पत्रमा भनिएको छ, ‘सिफारिस गरेको एक महिनाभन्दा बढी भइसक्यो, महासचिव नियुक्त नहुँदा संघीय संसदका कामकारबाहीमा पनि समस्या आइरहेका छन्। महासचिव छिटो नियुक्तिका लागि स्मरण गराइएको छ।’ स्मरण पत्र पठाउनुअघि सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरलाई बोलाएर छलफल गर्नुभएको थियो। कुँवरले महासचिवमा पुनस् सिफारिस गर्न आग्रह गर्नुभएको थियो तर सभामुख र राष्ट्रिय सभा अध्यक्षले त्यसो गर्न मान्नुभएको थिएन ।

‘अनि स्मरण पत्र पठाउने गरी बीचको बाटो खोजिएको थियो,’ स्रोतले बताएको छ । सभामुख घिमिरेले आइतबार प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूसँग गरेको छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै संसदको महासचिव नियुक्तिमा आफूले गर्नुपर्ने सिफारिस गरिसकेको बताउनुभएको थियो । ‘महासचिव नियुक्त गर्न आफ्नो ठाउँबाट गर्नुपर्ने सिफारिस गरिसकेको छु,’ उहाँले भन्नुभयो, ‘टुंग्याउनुपर्ने स्थानबाट छिटो टुंगिएला भन्नेमा आशावादी छु।’

राष्ट्रपति पौडेलका कानुनी सल्लाहकार कुँवरले सभामुख र राष्ट्रिय सभा अध्यक्षबाट स्मरण पत्र आएको बताउनुभयो । सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभा सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिव बनाउन सिफारिस गर्नुभएको थियो । तर राष्ट्रपति कार्यालयले नियुक्ति प्रक्रिया अघि बढाएको छैन। राष्ट्रपति कार्यालयले गौतमले पदबाट दिएको राजीनामा स्वीकृत नहुँदै सभामुख र राष्ट्रिय सभा अध्यक्षले पाण्डेयलाई महासचिवमा सिफारिस गरेकोले ुमिति नमिलेकोु भन्ने तर्क गर्दै आइरहेको छ।

राष्ट्रपति पौडेलले अनावश्यक र अतिरिक्त सक्रियता देखाएर महासचिव नियुक्ति प्रक्रिया रोकेको आरोपसमेत लाग्ने गरेको छ। सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाको परामर्शमा राष्ट्रपति पौडेलले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै गत मंसिर २७ गते सचिव पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी तोक्नुभएको थियो । कार्यवाहक महासचिव पाण्डेयविरूद्ध प्रतिनिधि सभाकै राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता दुरूपयोगको उजुरी परेको छ। उजुरीबारे समितिले गृह मन्त्रालयलाई पत्र लेख्दै जवाफ मागेपछि पाण्डेयको नागरिकताबारे जिल्ला प्रशासन कार्यालयबाट विवरण मागिएको थियो। संसदको महासचिवमा नियुक्ति सिफारिससँगै उनले एकभन्दा बढी नागरिकता लिएको विषय संचारमाध्यममा प्रकाशित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय