अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 09:48

प्यालेस्टिनी राज्य स्थापनाका लागि अमेरिकाको आग्रह इजरायलद्वारा अस्वीकार

बिआरटीनेपाल २०८० माघ ५ गते ७:३९ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले गाजामा द्वन्द्व सकिएपछि प्यालेस्टिनी राज्य स्थापनाका लागि अमेरिकाले गरेको प्रस्तावलाई आफूले अस्वीकार गरिदिएको बताउनुभएको छ ।अमेरिकासहित इजरायलका सहयोगी देश र विपक्षी देशहरूले पनि लामो समयदेखि निष्क्रिय रहेको दुई राज्यको अवधारणा बिउँताउन आग्रह गरेका छन् । उनीहरूको प्रस्तावअनुसार इजरायल र प्यालेस्टिन सँगसँगै अवस्थित दुई देश हुनेछन् । धेरैले हिंसाको अन्त्यहीन चक्र समाप्त पार्न यो एउटा व्यावहारिक विकल्प हुने बताएका छन् । तर नेतन्याहूले प्रस्तावलाई सिधै अस्वीकार गरेको बताउनुभएको छ ।

पत्रकार सम्मेलनमा एउटा प्रश्नको उत्तर दिँदै उहाँले पूर्ण विजय प्राप्त नगरुन्जेल गाजामा आक्रमण जारी राख्ने पनि बताउनुभएको बीबीसीले जनाएको छ । यसअघि हिजो नेतन्याहूले जोर्डन नदीको पश्चिममा रहेको सबै भूभागमा सुरक्षा नियन्त्रण हुनुपर्छ भन्नुभएको थियो । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अहिलेसम्म झन्डै २५ हजार मानिसको ज्यान गएको छ । ८५ प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ । धेरै इजरायली अब हमासको नियन्त्रणमा रहेका बन्धकहरू फिर्ता गरेर युद्ध रोक्नुपर्ने पक्षमा देखिन थालेका पनि बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू