नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।अध्यक्ष ओलीले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने बताउनुभयो । उहाँले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भएपनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरुको संरक्षणमा लागेको आरोप लगाउनुभयो । उहाँले अहिलेको सत्ता गठबन्धनका नेताहरु भ्रष्टाचारी कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताउनुभयो । अध्यक्ष ओलीले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपा एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने बताउनुभयो । उहाँले मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले वर्तमा सत्ता गठबन्धन नेताहरु घाँटीमात्रै नजोडिएको भन्दै शरीर पनि जोडिएको बताउनुभयो ।
