अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 16:45

राष्ट्रपति चुनावमा ट्रम्पको योग्यताबारे मुद्दा अघि बढाउन अमेरिकाको सर्वोच्च अदालत सहमत

बिआरटीनेपाल २०८० पुष २१ गते ४:४५ मा प्रकाशित

अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि उम्मेदवार बन्न पाउने/नपाउने विषयको मुद्दामा सुनुवाइ गर्ने जनाएको छ । कोलोराडोको अदालतले चुनावमा अयोग्य ठहर्‍याएपछि ट्रम्पले त्यस विरुद्ध पुनरावेदन दिनुभएको थियो ।ट्रम्पको पुनरावेदन मुद्दा अघि बढाउन सर्वोेच्च अदालतका न्यायाधीशहरू सहमत भएका बीबीसीले जनाएको छ । फेब्रुअरी महिनामा हुने सुनुवाइको आदेश देशव्यापी रूपमा कार्यान्वयन हुने अमेरिकी सर्वोच्च अदालतले जनाएको छ ।

कोलोराडो पछि मेइन राज्यमा पनि ट्रम्प राष्ट्रपति पदमा उम्मेदवार बन्न अयोग्य रहेको आदेश भएको छ । अरु कैयौँ राज्यमा ट्रम्पलाई चुनावका लागि अयोग्य ठहर गर्न माग गर्दै मुद्दाहरू दर्ता गरिएका छन् । तीन वर्षअघिको अमेरिकी संसद् भवनमा भएको आक्रमणको घटनाका बेला ट्रम्प देशद्रोहमा संलग्न भएको आरोप लगाइएको छ । अमेरिकाको संविधानको १४औँ संशोधनले देशद्रोह वा विद्रोहमा संलग्न जो कोहीलाई सङ्घीय पद धारण गर्न अयोग्य ठहराउँछ ।

तर ट्रम्पका वकिलले त्यो राष्ट्रपति भइसकेका व्यक्तिका हकमा लागू नहुने तर्क राखेका छन् । रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका लागि अग्रणी उम्मेदवार ट्रम्पलाई यस वर्षको नोभेम्बरमा हुने चुनावमा डेमोक्रयाट राष्ट्रपति जो बाइडनको प्रतिस्पर्धी हुनसक्ने ठानिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू