अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 16:23

इजरायलद्वारा युद्धपछि गाजाका लागि आफ्नो योजना सार्वजनिक

बिआरटीनेपाल २०८० पुष २० गते ५:३९ मा प्रकाशित

इजरायलले युद्धपछि गाजाका लागि आफ्नो योजनाको प्रारुप तयार गरेको छ । इजरायली रक्षा मन्त्री योभ ग्यालान्टले इजरायल र हमास बीचको युद्ध सकिएपछि गाजाको भावी शासनका लागि प्रस्ताव सार्वजनिक गरेका हुन् । युद्धपछि गाजामा सीमित प्यालेस्टिनी शासन हुने ग्यालान्टको भनाइ छ ।गाजाबाट हमासको नियन्त्रण हट्ने र यहाँ समग्र सुरक्षा नियन्त्रण इजरायलले कायम राख्ने मन्त्री योभले उल्लेख गरेको बीबीसीले जनाएको छ । इजरायलको “फोर कर्नर प्लान” योजना सार्वनिक हुँदैगर्दा गाजामा आक्रमण जारी नै छ ।

पछिल्लो २४ घण्टामा आक्रमणमा १ सय २५ जनाले ज्यान गुमाउँदा ३ सय बढी घाइते भएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै अलजजीराले जनाएको छ । खान युनुुसमा ३२ जना र रफाह शरणार्थी शिविरमा ५ जना मारिएका जनाइएको छ ।

गाजापट्टीमा जारी आक्रमणमा हालसम्म मारिनेको सख्या २२ हजार ४ सय ३८ पुग्दा घाइतेको सख्ंया ५७ हजार माथि पुगेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन यसै साता यस क्षेत्रमा आउँदैछन् । उनले कब्जा गरिएको वेस्ट बैंकमा प्यालेस्टिनी अधिकारी र इजरायली नेताहरूसँग वार्ता गर्ने अपेक्षा गरिएको छ । मङ्गलबार लेबनानको राजधानी बेरुतमा हमासका शीर्ष नेता सालेह अल–अरौरी मारिएसंगै यस क्षेत्रमा तनाव बढेको छ । यसै तनावको बीचमा उनको भ्रमण हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू