स्विजरल्यान्ड । ह्युमन राइटसको ७५ औँ वार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्सर्ट’मा पहिलो चोटि नेपाली भाषालाई प्रतिनिधित्व गर्दै गायक करण राईले आफ्नो साङ्गीतिक प्रस्तुति दिएका छन् । गत डिसेम्बर १० का दिन ह्युमन राइटसको ७५ औँ वार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्सर्ट’मा स्विजरल्यान्डको जेनेभा स्थिति अल हम्ब्रा थिएटरमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाली भाषालाई प्रतिनिधित्व गर्दै द भ्वाईस अफ नेपाल सिजन ४ विजेता समेत रहेका गायक करण र स्रष्टा प्रकाश आङदेम्बे आमन्त्रित थिए । करण राई भुटानी शरणार्थी शिविर शनिश्चरे मोरङमा जन्मिएर आफ्ना अभिभावकहरूसँगै अमेरिका पुनर्वास भएका छन् ।
संसारभरिबाट आएका पाँच सय बढी दर्शकदिर्घा रहेको हलमा ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति रहको थियो । पाँच पटक ग्रामी अवार्ड विजेता एन्जेलिका कुडो, ओपेरा गायिका बारबरा हेन्ड्रिक्स, फ्रेन्च ¥यापर एम सी सोलार, ग्वाटेमालाकि गायिका सारा कुरुचिच, प्यालेस्टानी मुलका डच डान्सर अहमेद जौद, युक्रेनी भ्वाइलोनिस्ट यलिजावेथ जाइटसेभा, पियानिस्ट आर्थर ली लगायतले आफ्ना कला प्रस्तुत गरेका थिए । गायक करण राईले प्रकाश आङदेम्बेको शब्दमा रहेको गीत “ताँती छन् अझ धेरै जिउनलाई रहरहरू” बोलको गीत मञ्चमा गाएका थिए । गायक राईले नेपाली गीत गाउँदा पार्श्वमा चार जना नर्तकहरूले नाचेका थिए भने स्क्रिनमा विभिन्न रङका लुङधर प्रोजेक्सन गरिएको थियो । सबै कलाकारहरूले आफ्नो एकल प्रस्तुति दिएपछि अन्त्यमा ‘ओगोलोग’ भन्ने गीतमा एन्जेलिका कुँडोसँग सामूहिक प्रस्तुति दिएर कार्यक्रम समापन गरिएको थियो ।
कार्यक्रम बारे गायक करणले भने “युएनले हामीलाई शरणार्थी अवस्थादेखि नै सहयोग गरेका थियो । आज उनीहरूकै निम्तोमा, उनीहरूले नै आयोजना गरेको कन्सर्टमा मैले गीत गाएर उनीहरूलाई सुनाउन पाउनु मेरो लागि ठुलो अवसर हो । अझ विश्वप्रशिद्द नामुद कलाकारहरूसँग म जस्तो सङ्गीतमा बामे सर्दै गरेको मान्छे सँगै उभिन पाउनु पनि अकल्पनीय उपलब्धि हो ।”
कार्यक्रमका साक्षी साहित्यकार प्रकाश आङदेम्बेले भने “एउटा प्रतिभालाई शरणार्थी शिविरदेखि जेनेभाको यो विश्व स्तरीय मञ्चसम्म निरन्तर देख्न पाउनु मेरो जीवनको दुर्लभ अवसर हो । जहाँसम्म लाग्छ (मलाई थाहा नहुन पनि सक्छ ।)ह्युमनराइटसका जेनेभामामा हुने आधिकारिक कन्सर्टमा नेपाली गायक र गीत गुन्जिएको सायद पहिलो हो । सङ्गीत, कला र आत्मीयता सिमानाभन्दा विशाल हुँदो रहेछ ।”