इजरायली सेनाले गरेको आक्रमणमा हमासद्धारा बन्धक बनाइएका इजरायलकै तीन नागरिक मारिएका छन् । इजरायली सेनाका अनुसार हमासले बन्धक बनाएका २८ वर्षका योतम हाइम, २२ वर्षीय समीर तलाल र २६ वर्षीय एलोन शमरिज रहेका छन् ।सेता पहिरन लगाएका तीनैजनालाई आतंकारीको आशंकामा इजरायली सेनाले गल्तीले गोली प्रहार गर्दा दुई जनाको घटनास्थलमै र एकजना घाइते भएको अवस्थामा भाग्दै गर्दा गोली हानी मारिएको हो ।
गत अक्टोबर ७ मा हमासले बन्धक बनाएका ती तीनै जना हमासले छोडेका वा आफैं भागेका हुन् भन्ने बारे प्रष्ट भैसकेको छैन ।यसैबीच बन्धकका परिवार र सहकर्मीहरुले इजरायली ज्यादतीको विरुद्धमा तेल अभिभमा प्रदर्शन गरेका छन् ।
बन्धक रिहाइका लागि इजरायलले पुन युद्धविराम गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका उनीहरुले इजरायली सेनाको गल्तीका कारण बन्धकहरु मारिएको भन्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विरुद्ध चर्को नाराबाजी गरेका छन् । इजरायलको सेनाले यस घटनाप्रति खेद प्रकट गर्दै गल्तीबस उनीहरु मारिएको भन्दै क्षमा याचना गरेको छ ।