नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले प्यालेस्टिनी आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइका निम्ति कुटनीतिक प्रयासलाई दोब्बर बनाउने बताउनुभएकाे छ । परराष्ट्र मन्त्रालयमा आज शुक्रवार पदबहाली गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्र सचिव लम्सालले यस्ताे बताउनुभएकाे हाे ।नेपालसँग श्रम सम्झौता नभएका देशमा गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा नजान सम्बद्ध सबैलाई आग्रह गर्दै उहाँले सरकारले रोजगारीमा विदेश जान चाहनेलाई ‘रोजगार अनुमतिपत्र’ प्रदान गर्ने बताउनुभयो । रुसी सेनामा नेपाली युवा भर्ती भएका समाचार सार्वजनिक भएका सन्दर्भ कोट्याउँदै उहाँले अनुमतिपत्र प्रदान गरिने बताउनुभएको हो । ज्यानलाई जोखिममा पारेर अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा नजान उहाँले सुझाव दिनुभयो ।
लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । उहाँले सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो । ‘मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले सुम्पेको जिम्मेवारी पूरा गर्न कर्तव्यनिष्ठ भएर लाग्नेछु’, समूह भावनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो । देशको परराष्ट्र नीतिअनुरूप द्विपक्षीय एवम् बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिँदै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो ।
मन्त्रिपरिषद्को हिजो बिहीवारको बैठकले मन्त्रालयकी वरिष्ठ सहसचिव लम्साललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । पाकिस्तानका निम्ति नेपाली राजदूत भएर काम गरिसक्नुभएकी उहाँले त्यसअघि न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा उपप्रमुखका रूपमा सेवा गर्नुभएको थियो । लम्साल परराष्ट्र मन्त्रालयकाे पहिलाे महिला सचिव बन्नुभएकाे छ ।
