कविता:
हिजो पूर्वबाट नै घाम झुल्के
आज अनि भोली पनि झुल्किन्छन्
समय आखिर उस्तै थियो
उस्तै छ अनि कालान्तरसम्म पनि
फरक त यहाँ तिम्रो,मेरो अनि
दुनियाँको बद्लिँदो मानसिकता
समयसँग निम्त्याएको पागलपन न हो
आखिर आफ्नै गतिमा दौडने
त्यो निष्कलङ्कित समय अनि
अटल सूर्यको के दोष?
दोष त तिनै सूर्यको वरिपरि परिक्रमा गर्ने
अनगिन्ती विवेकशील जनावरको
कहिले आफ्नै कर्म बिर्सन्छ अनि
सुस्त सुस्त आफन्तको पिठ्यूँमा छुरा हान्छ
त कहिले पागलपनको अभिनय
उफ्! आफैंलाई रङ्गमञ्चको नायक सम्झन्छ
कठै त्यो विवेकशील प्राणी
कहिले आफै नाङ्गिन्छ
र त अरूलाई पनि नाङ्गो देख्छ
अनि अट्टहास छोड्दै भन्छ
तिमीहरू त नाङ्गिएछौ
तर अपसोच
उ मात्रै त्यस्तो छैन
समयको आडमा नै यहाँ
आफन्तहरू पराय हुन्छन्
बिस्तारै अमृत पिएर
आफन्तकै करुवामा विष ओकल्छन्
प्रगति अरूको होइन
आफ्नै हुनुपर्ने नारा लगाउँछन्
अरूकै आशुमा स्नान गर्न रुचाउँछन्
घाउमा मलम होइन यहाँ
पलपल नुनचुक छर्न रमाउँछन्
सेतोलाई कालो भन्न
लाजको घुम्टोभित्र मुस्कुराउँछन्
सभ्यता र संस्कृतिको ढाडमा टेकेर
अर्वाचीनताको कात्रो ओढाई
आर्यघाटमा मौलिकताको
परम्परागत अन्त्येष्टि गर्न
आफन्तकै हातहरू तल्लीन हुन्छन्
आफ्नै कोखबाट जन्माएका सन्तानहरूलाई
अनाथको संज्ञा दिन
पारपाचुकेको अभिनयमा मक्ख हुँदै
पराइसँग यौन धन्दा अनि
आफ्नै अस्तित्व मेटाउन सौदाबाजी गर्छन्
विलासितामा अरूलाई नङ्ग्याउन
सपनाको महल बनाउनेहरू
आफ्नै शरीर निर्वस्त्र हुँदा सम्म
सिंहले रक्तको आहार लिएर
माते झैँ वेहोसी मै रमाउँछन्
आफन्तकै भोको पेटको
आहारा खोसेर
दशै मनाउनेहरू
कहिले आफन्तकै पीडामा हाँसी दिन्छन् त
कहिले प्रगतिमा डाहा गर्छन्
त्यसैले त यहाँ
समय खराब होइन
खराब त विवेकशील प्राणी छन्
तिमीले, मैले अनि हामीले
विश्वास गर्ने आफन्त छन्
बरु सक्छौ भने
आफूले आफैंलाई सोध्नुपर्छ
अरूलाई होइन, किन कि
यहाँ त स्वार्थी दुनियाँ मात्र छ