अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 00:37

गाजामा युद्धविरामको सम्भावना घट्दै

बिआरटीनेपाल २०८० मंसिर २५ गते ६:०६ मा प्रकाशित

गाजामा युद्धविरामको सम्भावना कम हुँदै गएको छ । युद्धविरामका लागि मध्यस्थता गर्दै आएको कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले उक्त भनाइ राख्नु भएको हो । गाजामा जारी इजरायलको तीव्र बमबारीसंगै युद्ध विरामको सम्भावना घट्दै गएको उहाँको ठम्याइ छ । दोहा फोरमका क्रममा कतारका प्रधानमन्त्री थानीले युद्ध विरामका लागि पहल भने जारी राख्ने बताउनु भएको छ । कतारकै पहलमा अघिल्लो महिना एक साताको विराम सभव भएको थियो । त्यतिखेर थुप्रै बन्धक र बदलामा प्यालेस्टायनी कैदी बन्दी रिहा भएका थिए ।

बिराम लगत्तै तीव्र आक्रमण थालेको इजरायलले पछिल्लो समय गाजाको दक्षिणी शहर खान युनिसमा आक्रमण केन्द्रित गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्ध पूर्ण रफ्तारमा अघि बढेको र हमासका लडाकुले आत्मसमर्पण गर्न थालेको बताउनु भएको थियो । यसलाई हमासको अन्त्यको सुरुवात समेत भएको उहाँको दाबी छ । सुरक्षा परिषद्मा युद्ध विरामको प्रस्ताव अस्वीकार गरेको अमेरिकाले आपतकालीन कानुनमा टेकेर इजरायललाई थप हतियार समेत उपलब्ध गराउने भैसकेको छ ।

उता गाजामा मानवीय संकट बढ्दै गएको र आधाभन्दा बढी जनसंख्या भोकमरीको शिकार भएको भन्दै संयुक्त राष्ट्र संघले सचेत गराउँदै आएको छ । पछिल्लो आंकडा अनुसार अहिलेसम्म इजरायली आक्रमणमा झन्डै १८ हजार प्यालेस्टाइनी मारिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू