अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 18:29

रास्वपाकाे राजनीतिक मार्ग– पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली

बिआरटीनेपाल २०८० मंसिर १३ गते ५:४७ मा प्रकाशित

महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले पार्टीकाे राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । रास्वपाको केन्द्रीय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको हो ।प्रस्तावनामा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रूपमा चित्रित गरिएको छ । पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने रास्वपाको दस्तावेजमा उल्लेख छ । जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्ने रास्वपाको लक्ष्य रहेको केन्द्रीय सदस्य डा. स्वर्णिम वाग्लेले बताउनुभयो । रास्वपाले पारित गरेको प्रस्तावनामा शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरू प्राप्त गर्ने निर्देशक सिद्धान्त बनाएको उहाँले बताउनुभयो ।

केन्द्रीय सदस्य वाग्लेले संसदीय चुनाव भएको एक वर्षभित्र पार्टीको महाधिवेशन गर्नुपर्ने भएकोले मङ्सिर मसान्तभित्रै महाधिवेशनको प्रक्रिया शुरु गरिने जानकारी दिनुभयो । यसका लागि सङ्गठनात्मक स्वरूपको खाका तयार पार्नुका साथै विधान संशोधन चाँडै नै गरिने उहाँले बताउनुभयो ।‘राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रूपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीयलगायत सबै प्रकारका संरचनात्मक विभेदविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ’, पारित प्रस्तावनामा भनिएको छ ।

डा. वाग्लेले पार्टीको नीति नरहेको भनेर आलोचना गरिए पनि ती आरोपहरू आलोचना मात्रै भएको बताउनुभयो । उहाँले आफ्नो राजनीतिक, सामाजिक र आर्थिक खाका तयार पारेको बताउनुभयो ।बैठकबाट रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय बनेको छ । रास्वपाका १४ जना सांसदलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेपछि केन्द्रीय समिति सदस्यको सङ्ख्या ५२ पुगेको हो । केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा. स्वर्णिम वाग्ले, डा. चन्दा कार्की, असीम शाह, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, शिव नेपाली र विनिता कठायत रहेका छन् । यसअघि सांसद रहेका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सोबिता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र विन्दवासिनी कंसाकार गरी छ जना मात्र केन्द्रीय सदस्य थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू