अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 04:23

इजरायल–हमास युद्धविराम सम्झौता : आज रिहा हुने १३ जना बन्धक एकै परिवारका

बिआरटीनेपाल २०८० मंसिर ८ गते ५:४७ मा प्रकाशित

हमास युद्धमा चार दिने युद्धविराम आज शुक्रवारदेखि लागू भएको छ । हजारौँको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकहरूको सट्टामा प्यालेस्टिनी कैदीहरूको रिहा गरिने भएको छ ।अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि शुरु भएको द्वन्द्व दुवै पक्षले स्थानीय समयअनुसार बिहान ७ बजेदेखि युद्धविराम गर्ने सम्झौतासँगै अस्थायीरूपमा रोकिएको छ । शुक्रवार गाजामा बन्धक बनाइएका १३ जनालाई रिहा गरिने र त्यसपछि इजरायली जेलबाट केही सङ्ख्यामा प्यालेस्टिनी कैदीलाई रिहा गरिने कतारी मध्यस्थताकर्ताहरूले बताएका छन् । प्यालेस्टिनी कैदीको यकिन सङ्ख्याबारे भने मध्यस्थताकर्ताहरूले बताएका छैनन् ।चार दिनको अवधिमा कम्तीमा ५० जना बन्धकलाई रिहा हुने अनुमान मध्यस्थकर्ताले गरेका छन् । यदि सहमतिअनुसार चार दिनमा ५० बन्धकलाई रिहाइ गरिएमा यसपछि अनुमानित अझै एक सय ९० जना बन्धक प्यालेस्टिनी लडाकु समूहको हातमा रहने छन् ।

सम्झौतामा उल्लेख भएअनुसार एक बन्धक बराबर तीन जना प्यालेस्टिनी कैदी अर्थात् कुल एक सय ५० जना प्यालेस्टिनी कैदीलाई इजरायली पक्षबाट रिहा गरिने अपेक्षा गरिएको छ । गाजाका २० लाखभन्दा बढी बासिन्दाका लागि यो सम्झौताले हप्तौँदेखि जारी इजरायली बमबारीबाट राहत प्रदान गरेको छ ।गाजा क्षेत्रमा शासन गर्दै आएको हमास सरकारले युद्धका कारण अहिलेसम्म झन्डै १५ हजार प्यालेस्टिनीकाे ज्यान गएकाे र धेरै सङ्ख्यामा विस्थापित भएका जनाएको छ ।हताहतको यकिन सङ्ख्या स्वतन्त्ररूपमा पुष्टि गर्न असम्भव छ तर धेरै प्यालेस्टिनी र इजरायली परिवारहरूका लागि हिंसामा विराम हुन यस पहिले नै धेरै ढिलो भइसकेको थियो ।

कतारका अधिकारीहरूले रिहा गरिएका १३ जना बन्धकमध्ये पहिलो समूहमा एकै परिवारका महिला र बालबालिका रहेका बताएका छन् ।इजरायली ट्रमा विशेषज्ञ र चिकित्सकहरूको टोलीले उनीहरूलाई पर्खिरहेका छन् ।  इजिप्टको एक सुरक्षा स्रोतले एएफपीलाई बताएअनुसार इजरायली सुरक्षा अधिकारी, अन्तर्राष्ट्रिय रेडक्रस–रेड क्रिसेन्टका कर्मचारी र इजिप्टको एक टोलीले इजिप्ट–गाजा सीमामा पर्ने राफामा बन्धकहरूलाई स्वागत गर्न खटाइनेछ ।एएफपीले हमासले सीमापार आक्रमणका क्रममा अपहरणमा परेका दुई सय ४० मध्ये दुई सय १० जनाको सनाखत भएको पुष्टि गरेको छ ।

बन्धक बनाइएकामध्ये कम्तीमा ३५ जना बालबालिका थिए जसमध्ये १८ जना हमासको आक्रमणको समयमा १० वर्ष वा त्याेभन्दा कम उमेरका थिए ।इजरायलले अक्टोबर ७ मा भएको आक्रमणमा झन्डै एक हजार दुई सय जनाको ज्यान गएको जनाएको छ । कुन बन्धकहरू जीवितै छन् वा कुन अवस्थामा बन्धकहरूलाई राखिएको छ भन्नेबारे सार्वजनिकरूपमा थोरै मात्र जानकारी छ ।‘आक्रमण र कैदको बर्बर प्रकृतिलाई ध्यानमा राख्दै हामी केवल सबैभन्दा खराब परिस्थितिका लागि मात्र तयार हुन सक्छौँ’, बन्धक वार्तामा सहभागी भएका अनुभवी सेवानिवृत्त इजरायली सैन्य अधिकारी मोटी क्रिस्टलले भन्नुभयो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले रिहा हुने र परिवारको सम्पर्कमा रहेकाहरूको नामको पहिलो सूची प्राप्त भएको जनाएको छ । सूचीमा को–को छन् भन्नेबारे भने खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू