प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोगापेक्षी सडक आश्रित मानवहरुको समुचित व्यवस्थापन हुने गरी आगामी संसद अधिवेशनमा विधेयक पेस गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मानव सेवा आश्रमले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो ।मानव सेवा आश्रमलाई सहयोगापेक्षी सडक मानव उद्धारका लागि आतिआवश्यक पर्ने भवन, जग्गा, बाहनलगायतका सेवा उपलब्ध गराउन पनि सरकार प्रतिवद्ध रहेको पनि प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले त्यस अवसरमा सबै प्रदेशमा एकरएक वटा सडक आश्रित मानव उद्दारका लागि आजैबाट सञ्चालनमा आउने गरी सवारी साधन उपलब्ध गराउने घोषणा समेत गर्नुभयो ।
प्रधानमन्त्री दाहालले सडक मानव मुक्त बनाउने नेपाल सरकारको घोषणा पूरा गर्नका लागि एक महिना भित्र मन्त्रीपरिषदबाट ठोस योजना बनाई अघि बढ्ने संकल्प समेत गर्नुभयो । प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहको सरकारलाई पनि सडक सहयोगोपेक्षी मानवहरुको उचित व्यवस्थापनका लागि आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्न पनि आफूले समन्वय गर्ने बताउनुभयो । कार्यक्रममा उहाँले मानव सेवा आश्रमले मानवीय सेवाका लागि गरेको कार्यक्रममा निरन्तरताको पनि कामना गर्नुभएको थियो ।
