छठ पर्व आउन चार दिन बाँकी रहँदा डोम समुदायमा उल्लास छाएको छ । अहिले उनीहरु डालो, नाङ्लो र टालु टपरी बनाउन व्यस्त छन् ।
मनरासिस्वा नगरपालिकाका ५० वर्षीय बिजु डोमले भन्नुभयो, ‘जीवनका हरेक दुःख विर्सेर मिठो मसिनो खाने र राम्रो लगाउने पर्व छठ हो ।’ छठ पर्वमा विभिन्न परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ६० वर्षीया मालती डोमिनले बताउनुहुन्छ ।
गौशाला नगरपालिकाकी ५५ वर्षीया केवली डोमले भन्नुभयो, ‘कात्तिक लाग्ने वित्तिकै बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ । यी वस्तु बजारमा बेच्दा मनग्य आम्दानी हुन्छ ।’
छठपर्व मनाउनेले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्लो र टालुटपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सात बाँसबाट बनेका सामग्री आवश्यक पर्ने जनाइएको छ । सम्सी गाउँपालिकाका ६० वर्षीय बुधो डोमले छठ पर्वका लागि बाँस सामग्रीका बनाउने गरेको बताउनुभयो ।
जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालुटपरी बेचेर वर्षभरिकै लागि खर्च जोहो गर्ने गरेको बताउनुभयो। त्यसैगरी जिल्लाको भङ्गहा नगरपालिकाका सिरिया डोमले घरका बालकदेखि बुढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति ४० देखि ५० हजार र प्रत्येक परिवारले दुई/तीन लाखको हाराहारीमा आम्दानी गर्ने गरेको बताउनुहुन्छ ।
अहिले जिल्लाको प्रत्येक पालिकाको गाउँ गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैले बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् ।
दिनदिनै छठपर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुडा पुर्याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याइनभ्याइ भएको छ । तराई– मधेशमा बेतबाट बनेको सामग्री किन्नेको भीडभाड रहेको छ ।