स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताउनुभएको छ । काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै उहाँले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने बताउनुभयो ।
‘वर्षौँदेखि रोकिएको काम अब सुरु गर्छौँ’, मन्त्री बस्नेतले भन्नुभयो, ‘पढाइसँगै रोजगारीको व्यवस्था पनि यहीँ गर्छौँ ।’ एकातिर गाउँमा महिला स्वास्थ्य स्वयंसेविका सधैँभरि स्वयंसेवी भएर बस्नुपरेको र अर्कोतिर लाखौँ रुपैयाँ खर्च गरेर पढेका चिकित्सक र नर्स विदेश पलायन भइरहेको अवस्थामा सरकारले त्यसलाई व्यवस्थित गर्ने बस्नेतको भनाई थियो । वर्तमान अवस्थामा मुलुकमा ४८ हजार नर्स र पाँच हजार चिकित्सक आवश्यक रहेको मन्त्री बस्नेतले बताउनुभयो ।
‘हालसम्म ३१ हजार नर्स र झण्डै एक हजार मात्र चिकित्सकको दरबन्दी रहेको छ’, उहाँले भन्नुभयो । सो अवसरमा मन्त्री बस्नेतले स्वास्थ्य चौकीका लागि आवश्यक पर्ने उपकरण दुई महिनाभित्रमा उपलब्ध गराउने बताउनुभयो ।
