अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 11:08

भुकम्पपछिको पुनर्स्थापनाको काम प्रभावकारी हुनुपर्छ :राष्ट्रपति पौडेल

बिआरटीनेपाल २०८० कार्तिक २१ गते ५:२४ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितलाई विपत्तिको बेलामा कोही छैन भनेर नआत्तिन आग्रह गर्नुभएको छ । उहाँले भुकम्प प्रभावितलाई मद्दत गर्ने सरकार छ भनेर सोच्न उहाँले आग्रह गर्नुभयो । भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मंगलवार भूकम्पको केन्द्रविन्दु जाजरकोटको बाराकोटेको रामीडाँडा पुग्नुभएका राष्ट्रपति पौडेलले यस्तो आग्रह गर्नुभएको हो । ‘अहिलेको अवस्थामा कोही छैन भनेर नठान्नु होला, हाम्रो सरकार छ भन्ने सोच्नु होला’ , स्थानीय र जनप्रतिनिधिसँगको छलफलमा राष्ट्रपतिले भन्नुभयो ।

विपद्‌को समयमा युद्धस्तरमा काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले यो बेलामा एकैपटक १० वटा कुरा सोच्ने र सोचेभन्दा बढी काम गर्नुपर्ने बताउनुभयो । जनप्रतिनिधिहरूलाई भूकम्पको क्षति तथा अवस्थाबारे सही तथ्याङ्क राख्न र पीडितहरू नठगिने गरी काम गर्न पौडेलको सुझाव थियो । ‘दुई/तीन वटा घर हुनेले राहत पाउने तर केही नहुनेले पाउँदै नपाउने अवस्था नआओस् । हामी सबै मिलेर विपत्तिको सामाना गरौं, लोकतन्त्र तपाईँहरूको साथमा छु’, राष्ट्रपति पौडेलले भन्नुभयो ।

भूकम्प प्रभावितहरूको आवश्यकता पूर्तिका लागि आवश्यक प्रबन्ध गर्न सरकार सदैव प्रयत्नशील बन्नुपर्ने उहाँको भनाइ छ ।’अहिले राजा महाराजको जमाना होइन, संघीय लोकतान्त्रिक गणतन्त्रको समय हो, जनतालाई दुःख पर्दा सरकार जनतासँगै हुनुपर्छ’ राष्ट्रपतिले भन्नुभयो’यो दुर्भाग्यपूर्ण र प्राकृतिक विपत्तिको दुःखद् घटना हो, तपाईँहरूको दुःखमा साथै रहन र राहत तथा उद्धारमा भइरहेका कामहरूको अवस्था बुझ्न म यहाँ आएको हु’ ।

अल्पकालीन र दीर्घकालीन पुनर्स्थापनाको प्रबन्धलाई प्रभावकारी बनाउन पनि उहाँले सरकारसँग आग्रह गर्नुभएको छ । विगतमा झाडापखालाको महामारी हुँदा यस क्षेत्रका जनतासँगै रहेको उल्लेख गर्दै राष्ट्रपतिले पौडेलले विनकाशकारी भूकम्पको यस प्राकृतिक विपत्तिमा जनतासँगै रहेको बताउनुभयो । तत्काल बसोवासको लागि त्रिपाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षा याममा समस्या नहुने गरी बसोवासको अस्थायी प्रबन्ध तथा दीर्घकालीन रुपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा अहिले नै सोचेर काम थाल्न पौडेलले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय