बङ्लादेशमा न्यूनतम आधारभूत तलबको माग गरी दशौँ हजार श्रमिक आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ढाका र आसपासका क्षेत्रमा झण्डै तीन सय गार्मेन्ट कारखानाहरू बन्द भएका छन् ।श्रमिक आन्दोलन कारण राजधानी ढाका र आसपासका प्रमुख औद्योगिक क्षेत्रमा सुरक्षाका लागि अर्धसैनिक बल बोर्डर गार्ड बङ्लादेश (बीजीबी) का सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बीजीबी मुख्यालयका जनसम्पर्क अधिकृत सरिफुल इस्लामका अनुसार आशुलिया, सावर, मिरपुर, रामपुरा, अब्दुल्लाहपुर, तोङ्गी, गाजीपुर, कोनाबारीलगायत विभिन्न औद्योगिक क्षेत्रमा सेना तैनाथ गरिएको छ । मासिक २३ हजार टाका अर्थात् झण्डै दुई सय अमेरिकी डलर न्यूनतम आधारभूत तलबको माग गर्दै श्रमिकले विगत केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।
ढाकाका तयारी पोसाक उत्पादकहरूले उच्च तलब संरचनासहितको नयाँ ज्याला प्रस्तावलाई अर्को हप्ता न्यूनतम ज्याला बोर्डमा पठाउनेबारे विचार गरिरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।