अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१ | Colorodo: 11:46

नेपाल विश्व शान्तिका लागि प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

बिआरटीनेपाल २०८० कार्तिक १ गते ७:०८ मा प्रकाशित

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल विश्व शान्तिका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्र संघ दिवसका अवसरमा नेपाली सेनाले बुधबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले नयाँ चुनौतीहरूको उदयसँगै विश्वव्यापीरूपमा नागरिकहरूको संवेदनशीलता बढेको पनि बताउनुभयो  । संयुक्त राष्ट्र संघीय शान्ति स्थापनाको विश्वास र वैधता कायम राख्न नयाँ र जटिल चुनौतीकाबीच कसरी शान्ति सुनिश्चित गर्ने भन्ने विषयमा पुनर्विचार गर्न आवश्यक देखिएको पनि उपप्रधानमन्त्री खड्काले धारणा राख्नुभयो। काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्र संघको बडापत्रको दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको थियो ।

संयुक्त राष्ट्र संघ दिवस, २०२३ को उपलक्ष्यमा ‘शान्ति म बाट सुरु हुन्छ’ भन्ने मूल नाराका साथ मनाइँदै छ । उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र संघको बडापत्रको आदर्श र विश्व शान्तिको महान उद्देश्य प्रति नेपालको प्रतिबद्धता स्मरण गराउनुभयो। उहाँले भन्नुभयो, ”संयुक्त राष्ट्र संघको बडापत्र नेपालको परराष्ट्र नीतिको एउटा मार्गदर्शक सिद्धान्त हो । नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि सदैव जोड दिँदै आएको छ । नेपाल सधैं विश्व शान्ति र सद्भावका लागि प्रतिबद्ध रहेको छ” ।

निशस्त्रीकरण र विश्वशान्तिलाई बढावा दिने र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्ने अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूमा नेपालका प्रतिबद्धताहरू अभिव्यक्त भएको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यमा नेपालले शान्ति सैनिकलाई निरन्तर खटाएर योगदान गरिरहेको बताउनुभयो । संयुक्त राष्ट्रसंघले विश्वको शान्ति, प्रगति र समृद्धिका लागि अथक प्रयास गर्दै आएको कुरा नेपालले सदैव स्वीकार गरेको खड्काको भनाइ थियो । उहाँले विश्व समुदायको एक सदस्यको हैसियतले नेपाल पनि यी प्रयासमा सक्दो योगदान गर्न सधैं प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

संयुक्त राष्ट्र संघमा नेपालको सहभागिता र योगदान उल्लेखनीय रहेको खड्काको भनाइ थियो । हाल नेपाल संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सेना पठाउने मुलुकमध्ये शीर्ष दोस्रो स्थानमा रहेको छ । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति कार्यमा १० हजारसम्म तालिम प्राप्त शान्ति सैनिकलाई परिचालन गर्न सकिने प्रतिबद्धता रहिआएको उल्लेख गर्दै उपप्रधान तथा रक्षामन्त्री खड्काले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको लैंगिक समानता रणनीति अनुरूप नेपालले तोकिएका मापदण्ड पूरा गर्न र सक्षम महिला शान्ति सैनिक पठाउन हर सम्भव प्रयास गरेको जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय