नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ‘रियल’ एमाले नभएको दाबी गर्नुभएको छ । समाजवादी मोर्चाले धनगढीमा आयोजना गरेको सन्देश सभामा उहाँले ओलीको नाम नै नलिई उनी गणतन्त्रवादी नभएको पनि जिकिर गर्नुभयो। “अहिले एमालेको नामबाट जसले नेतृत्व गर्दै हुनुहुन्छ, उहाँ रियल एमाले होइन । उहाँ गणतन्त्रवादी होइन । उहाँ संघीयतावादी होइन । उहाँ समानुपातिक, समावेशी लोकतन्त्रको पक्षधर होइन,” प्रचण्डले भन्नुभयो । प्रधानमन्त्रीले एमालेको तत्कालीन महासचिव माधव कुमार नेपाल नभएर ओली भएको भए गणतन्त्र नआउने समेत बताउनुभयो ।
“मलाई कहिलेकाहीँ डर लाग्छ । त्यतिबेला माधव नेपाल नभएर अहिले तथाकथित एमालेको अध्यक्ष त्यतिबेलाको महासचिव भएको भए देशको हालत के हुन्थ्यो होला ? ,” प्रचण्डले भन्नुभयो, “के हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा हुन्थ्यौँ त ? मलाई शंकामात्रै होइन, झन्डैझन्डै असम्भव जस्तै लाग्छ ।” उहाँले आफूले जनयुद्ध र माधव नेपालले जनआन्दोलनको नेतृत्व गर्दा भूमिगत रुपमा लामो वार्ता संवाद गरिएको बताउनुभयो । युद्ध र आन्दोलनको माध्यमबाट सामन्तावादमाथि सँगसँगै प्रहार गरेको प्रचण्डको भनाई थियो ।
एक फरक प्रसंगमा उहाँले कोशी प्रदेश सरकारमा भएको एमालेको सहभागिता करेक्सन हुने बताउनुभयो । कांग्रेसको असन्तुष्ट गुट र एमालेको गठबन्धन बन्नु लाजमर्दो विषय भएको प्रधानमन्त्रीको टिप्पणी थियो । ‘कोशीमा दुई वटा गठबन्धन बने, एउटा हाम्रो । अर्को एमाले र कांग्रेसको असन्तुष्टको । त्यसपछि धेरै मेहनत गरेर यो गठबन्धनको बारेमा दृढ छौं भनेर कमिटमेन्टसहित हस्ताक्षर गर्यौं’ प्रचण्डले भन्नुभयो, ‘एमालेले गरेको चलखेल त्यही रोकियो भनेको त, फेरि भयो । एमाले मन्त्री छिराइ हालेछन्, त्यो करेक्सन हुन्छ । जित्नलाई यही गठबन्धनले जित्छ ।’
प्रचण्डले ठूला पार्टीभित्रको डायानामिक्स अचम्मको रहेको बताउनुभयो । ‘ठूला पार्टी भित्र अचम्मको डाइनामिक्स छ, एमाले भित्र पहिलो चोटी ठूलठूला चिरा परेको, त्यसलाई सदुपयोग गर्न सकिन्छ । कांग्रेसपार्टी हो कि पाटी हो कि मञ्च हो बुझ्नै गाह्रो छ’ प्रचण्डले भन्नुभयो ।
