अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९ | Colorodo: 16:44

बीआरआई परियोजनामार्फत नेपालमा विकास र समृद्धिलाई तीव्रता दिन चाहन्छौं -प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० असोज २१ गते ७:२३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध रहेको दाबी गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित बीआरआईको एक दशक स् व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक सेमिनारलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परियोजना छनोट र कार्यान्वयन हुने गरि अगाडि बढाउन नेपाल सरकारको स्पष्ट रहेको जानकारी गराउनुभयो । ‘विगतमा म आफैँ सरकारको नेतृत्वमा रहँदा र महामहिम राष्ट्रपति सी चीनफिङको २०१९ मा भएको ऐतिहासिक भ्रमण र त्यसपछि पनि भएका विभिन्न द्विपक्षीय भ्रमणका उपलब्धीलाई संश्लेषण गर्दै बीआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध छ।’प्रधानमन्त्रीले भन्नुभयो,‘अब बीआरआई परियोजना मनोकामनाको सूची नभई कार्यान्वयनयोग्य परियोजना छनोट र कार्यान्वयन हुनेगरि बीआरआई सम्बन्धी विकास निर्माणका परियोजना अगाडि बढाउने छौं। यो नेपाल सरकारको स्पष्ट धारणा पनि हो। ’

प्रधानमन्त्री प्रचण्डले नेपाल बीआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्रता दिन चाहेको बताउनुभयो। ‘बीआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएको प्रश्नहरू यदाकदा सुनिने गरेका छन्। यसका लागि कोभिड महामारी, हाम्रा प्रणाली र संरचनागत सीमाहरू समेत जिम्मेवार छन्। तर नेपाल बीआरआई परियोजना कार्यान्वयनमार्फत विकास र समृद्धिलाई तीव्रता दिन चाहन्छ। नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुनेछ भन्ने महामहिम राष्ट्रपति सी चीनफिङको भनाइप्रति मेरो पूर्ण सहमति छ, जुन कुरा मैले केही दशकदेखि दृढतापूर्वक भन्दै पनि आएको छु। अब हामीले उक्त युक्तिलाई वास्तविकतामा बदल्न सामूहिक पहलकदमी लिनुपर्नेछ।’ उहाँले भन्नुभयो, ‘यस्ता परियोजनाको वित्तीय लगानीको मोडेलका बारेमा हामी अझ मसिनो ढङ्गले छलफल गर्नेछौं। चिनियाँ पक्षले पनि लगानी सम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनाहरूका सन्दर्भमा नेपालका लागि अनुदान र सहायताको नीति लिने हाम्रो विश्वास छ।’

नेपाल विगतदेखि नै एक चीन नीतिको पक्षमा दृढ रहँदै आएको प्रधानमन्त्रीको भनाई छ। ‘हामी वर्तमान र भविष्यमा समेत एक चीन नीतिप्रति दृढ रहनेछौँ। नेपाली भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न दिइने छैन। यो नेपाल सरकारको प्रष्ट दृष्टिकोण हो।’उहाँले भन्नुभयो ,‘संयुक्त राष्ट्रसंघको उद्देश्य तथा सिद्धान्त र पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्ध यस क्षेत्रकै शान्ति, स्थायित्व र समृद्धिका लागि महत्वपूर्ण छ। हामी त्यसै उद्देश्य प्राप्तिमा निरन्तर लाग्नेछौँ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय