अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 02:45

स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सरकार तयार छ : गृहसचिव भट्टराई

बिआरटीनेपाल २०८० असोज १२ गते ६:३५ मा प्रकाशित

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित वातावरणमा कार्य गराउन गृह प्रशासन तयार रहेको बताउनुभएको छ । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा गृह सचिव भट्टराईले स्वास्थ्यकर्मीलाई पूर्ण रुपमा सुरक्षित तुल्याउन सुरक्षा प्रशासन तयार रहेको बताउनुभएको हो । उहाँले चिकित्सकहरुमाथी विभिन्न ठाउँमा आक्रमण भएको भन्दै घटनामा संलग्न दोषिलाई कारबाही गरिने बताउनुभयो ।

गृह सचिव भट्टराईले चिकित्सकहरुका जायज माग सम्बोधन गर्न सरकार सधैं तयार रहेको भन्दै वार्ता, संवादद्धारा हुनसक्ने दीर्घकालीन नीतिगत र संरचनागत प्रवन्धद्वारा हुने विषयलाई सडकमा आएर सेवा अवरुद्ध गर्न जरुरी नभएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीमाथि भएका घटनाहरुमा प्रचलीत कानूनले दिएको सिमा र परिधिभित्र रहेर कानून बमोजिम कारबाही अघि बढाइएको बताउनुभयो ।

समितिको बैठकमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले स्वास्थ्यकर्मी सम्बन्धी ऐन अपूरो भएको बताउनुभयो । उहाँले चिकित्सकहरुमाथि दिनहुँ हातपात भएको भन्दै राजनीतिक दलको दृढ संकल्प अहिलेको आवश्यकता रहेको बताउनुभयो । स्वास्थ्यका समस्याहरु सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएका फाइलहरु अर्थ मन्त्रालयमा चाङ लागेर बसेको बताउनुभयो ।

अध्यक्ष कार्कीले स्वास्थ्यकर्मीको दरबन्दी नथपिने, चिकित्सकहरुले अतिरिक्त समय काम गरेको भत्ता नपाउने, चिकित्सकहरुले कति घण्टा काम गर्ने भन्ने नतोकिएको लगायतका समस्या रहेको बताउनुभयो । डा.कार्कीले हरेक घटनामा डाक्टरलाई कुटिने गरिएको भन्दै लापरबाही भन्ने शब्द परिवर्तन हुनुपर्ने बताउनुभयो । उहाँले मेडिकलल प्राक्टिस शतप्रतिशत नहुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू