अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 07:54

९५ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको सरकारको दाबी

बिआरटीनेपाल २०८० असोज ९ गते ६:०५ मा प्रकाशित

सरकारले ९५ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गरेको छ ।खानेपानी मन्त्रालयको आयोजनामा आज मङ्गलवारदेखि शुरु भएको खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलनमा ९५ प्रतिशतमा खानेपानीको पहुँच पुगेको तथ्याङ्क प्रस्तुत गरिएको हो । तर ट्रिटमेन्ट प्लान्ट सहितको खानेपानी सुविधा भने २६ प्रतिशतमा मात्रै उपलब्ध छ ।

यस्तै मन्त्रालयले ९५ प्रतिशत घरधुरीमा शौचालय सुविधा रहेको र झन्डै १० प्रतिशतमा ढलसहितको सेवा पुगेको जनाएको छ । ढलबाट निस्कने फोहर पानीमध्ये तीन प्रतिशतमात्रै प्रशोधन गरेर विसर्जन हुँदै आएको छ । ९७ प्रतिशत पानी नदी तथा सिमसार क्षेत्रमा पुग्ने गरेको छ ।

काठमाण्डौमा भइरहेको सम्मेलनमा खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा संलग्न तीन वटै तहका सरकार, विभिन्न सरकारी निकाय, निजी एवम् गैरसरकारी क्षेत्र, नागरिक समाज, विज्ञ तथा विकास साझेदार क्षेत्रका प्रतिनिधिसहित दुई सयभन्दा धेरै जनाकाे सहभागितामा रहेको छ । सम्मेलनले खानेपानी तथा सरसफाइका क्षेत्रमा अहिलेसम्म भएका गतिविधि र उपलब्धिको समीक्षा गर्दै आउँदाे रणनीति तय गर्नेछ । सम्मेलनले खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी रणनीतिक कार्यक्रम, आयोजनाको विस्तृत विश्लेषण गरी आउँदाे रणनीति घोषणा पनि गर्नेछ ।

सम्मेलनको उद्घाटन समारोहमा खानेपानी मन्त्रालयका सचिव राम आधार साहले सम्मेलनले खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रका सबल र दुर्बल पक्षको समीक्षाका साथै चुनौती र अवसरको लेखाजोखा गर्ने, क्षेत्रगत सुधारका लागि जवाफदेहिता तथा प्रमाणमा आधारित निर्णय गर्दै सरोकारवालाको सहभागितामा दिगो रणनीति विकासमा सहयोग गर्ने जानकारी दिनुभयो ।

मन्त्रालयका सहसचिव तिरेशप्रसाद खत्रीले आज पहिलो दिन विषयगत क्षेत्रबारे प्रस्तुत कार्यपत्रमाथि विश्लेषण र समीक्षा गर्ने र भोलि बुधवार दोस्रो दिन समीक्षाबाट आएको निष्कर्षका आधारमा आउँदा दिनमा गर्नुपर्ने विषयबारे निष्कर्षसहितको घोषणापत्र सार्वजनिक गरिने बताउनुभयो । उहाँले सन् २०३० सम्ममा स्वच्छ खानेपानी उपलब्ध गराउने दिगो विकास लक्ष्य पूरा गर्न सम्मेलनले मार्गनिर्देश गर्ने बताउनुभयो । त्यही लक्ष्य पूरा गर्न सम्मेलनले रणनीति तय गर्नेछ ।

यसअघि प्रदेशगतरूपमा समीक्षा गोष्ठी सम्पन्न गरी देशभरका प्रतिनिधि सहभागी भई राष्ट्रिय सम्मेलन आयोजना गरिएको र यसको निष्कर्षलाई आउँदाे १६ औँ पञ्चवर्षीय योजनामा समेट्ने प्रयास गरिने जनाइएको छ । यसअघि सन् २०११ र २०१४ मा यस्तै सम्मेलन गरिएको थियो । अहिलेसम्म चार सयभन्दा बढी पालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी योजना बनाइसकेका छन् । सरकारले यस वर्ष राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने घोषणा पनि गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू